दाङ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, धादिङ, नुवाकोटलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले दुःख व्यक्त गरेको छ ।
प्रदेश सभापति अमरसिंह पुनद्वारा जारी प्रेस विज्ञप्तिमा बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ । साथै घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचार तथा बेपत्ता नागरिकको तत्काल खोजी, उद्धार, सुरक्षित स्थानान्तरण र राहतको व्यवस्था गर्न नेपाल सरकारसँग आग्रह गरिएको छ ।
कांग्रेस लुम्बिनीले राष्ट्रिय विपद्को घडीमा राजनीतिक पूर्वाग्रह, आरोप–प्रत्यारोप र भ्रामक सूचनाभन्दा माथि उठेर मानवीय सहयोगमा जुट्न सबैलाई अपिल गरेको छ । आगामी दिनमा विपद् न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली, समन्वय संयन्त्र, दीर्घकालीन व्यवस्थापन तथा पुनर्स्थापनालाई प्रभावकारी बनाउनसमेत सरकार, राजनीतिक दल, नागरिक समाज तथा राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थासँग आग्रह गरिएको छ ।
विपद् व्यवस्थापनमा सरकारका प्रयासमा साथ दिने प्रतिबद्धता व्यक्त गर्दै कांग्रेस लुम्बिनीले नागरिक सुरक्षाका लागि सक्रिय सबै सरोकारवालालाई धन्यवाद दिएको छ ।

प्रतिक्रिया दिनुहोस्