दाई, तीन लाख रुपैयाँ खर्च गरेर भिडियोसहितको गीत निर्माण गरेँ, तर गीत चलेन । यो पीडा वास्तवमै उसैले बुझ्न सक्छ, जसले आफ्नो पसिना, मेहनत र लाखौँ रुपैयाँ खर्च गरेर एउटा गीत बजारमा ल्याएको हुन्छ । गीत नचल्दा पैसा मात्र डुबेको हुँदैन त्यससँगै कलाकारको सपना, भावना, आशा र वर्षौँदेखि बोकेको एउटा रहर पनि चकनाचुर हुन्छ ।
आज गीतसंगीतको क्षेत्रमा एक किसिमको प्रलय आएको अनुभूति भएको छ । राम्रो गीत कुन हो र धेरै हेरिएको गीत कुन हो भन्ने विषयमा नै गम्भीर भ्रम सिर्जना भएको छ । गीतको शब्द, भाव, सन्देश, मौलिकता र सांगीतिक गुणस्तर नबुझीकन युट्युबको भ्युजका आधारमा ‘हिट गीत’ घोषणा गर्ने प्रवृत्तिले हाम्रो गीत संगीतको बजारलाई क्रमशः धुमिल बनाउँदै लगेको छ र यहि नै सत्य हो ।
धेरै दुःखकष्ट गरेर कमाएको पैसा थियो । गीत बनाउने ठूलो रहर थियो । चिनजानका केही दाईहरूसँग सल्लाह लिएँ । गीत लेखेँ । चलेका गायक गायिकालाई गीत गाउन दिएँ । चर्चित कलाकारलाई भिडियोमा अभिनय र नृत्य गराएँ । गीतको रेकर्डिङदेखि भिडियो निर्माणसम्म कुनै कमी राखिनँ । लाखौँ रुपैयाँ खर्च भयो । सबै तयारी पूरा भएपछि मनमा एउटै विश्वास थियो ‘अब त मेरो गीतले दर्शक र श्रोताको मन छुनेछ ।’
तर, खै के भयो ? मेरो गीत नै चलेन दाई ।
त्यसपछि मनमा अनेक प्रश्न उठ्न थाले । के मेरो गीत साँच्चिकै गीत थिएन ? के मेरो शब्दमा भावना थिएन ? के मेरो गीतको कथाले समाजलाई छोएन ? अथवा आजको बजारमा मौलिकता र भावनाको कुनै मूल्य नै छैन ?
मैले त्यो गीतमा आफ्नो जन्मभूमि नेपाल छोडेर परदेशी भूमिमा पसिना बगाउँदै जीवन बिताइरहेका नेपालीहरूको कथा टिपेको थिएँ । परिवारबाट टाढिनुपर्दाको पीडा, श्रीमती छोराछोरीको सम्झना, बुबाआमाको अनुहार सम्झँदै विदेशमा आँसु झार्नुपरेको क्षण, साहुको ऋणले सताएको जीवन र घरपरिवारको भविष्यका लागि आफ्नै रहरहरू मारेर विदेशिनुपरेको बाध्यतालाई लोकगीतको भाकामा उतारेको थिएँ ।
त्यो गीत मात्र थिएन हजारौँ नेपालीको जीवनकथा थियो ।
मैले समाज भड्काउने शब्द लेखिनँ । कसैलाई उत्तेजित बनाउने खालका शब्द प्रयोग गरिनँ । आफ्नै परिवारसँग बसेर हेर्न र सुन्न नसकिने अश्लील तथा छाडा शब्द राखिनँ । संस्कृतिमाथि प्रहार गर्ने दृश्य निर्माण गरिनँ । बरु नेपाली समाजले पचाउन सक्ने, हाम्रो मौलिक कला र संस्कृतिको सम्मान गर्ने तथा परिवारसँगको दूरीले सिर्जना गरेको पीडादायी यथार्थलाई शब्दमा उतार्ने प्रयास गरेँ ।
भावनामा बगेर शब्द कोरेँ । गीतका शब्दहरूलाई पटकपटक पढेँ । शब्दको वजन कस्तो छ भनेर आफ्नै हिसाबले शब्दको तराजुमा जोखेँ । समाजले स्वीकार गर्ने विषयवस्तु खोजेँ । मौलिकता जोगाउने प्रयास गरेँ । जीवनका वास्तविक कथालाई संगीतसँग जोड्ने प्रयास गरेँ ।
तर पनि मेरो गीत किन चलेन ?
के साँच्चिकै गीत चलाउनका लागि आधा शरीर देखाउनैपर्छ ? छोटा छोटा लुगा लगाएर दर्शकको ध्यान आकर्षित गर्नैपर्छ ? गीतका शब्दमा अश्लीलता मिसाउनैपर्छ ? समाजलाई उत्तेजित बनाउने दृश्य र संवाद प्रयोग गर्नैपर्छ ? के एउटा गीतको सफलता अब भ्युज, भाइरलपन र क्षणिक चर्चामा सीमित भएको हो ?
आजको डिजिटल संसारमा भ्युज कमाउनु कठिन विषय हो । सामाजिक सञ्जालको एल्गोरिदम, प्रचारप्रसार, बजार व्यवस्थापन र दर्शकको बदलिँदो रुचिले पनि गीतको पहुँच निर्धारण गर्छ । त्यसैले धेरै भ्युज आउँदैमा मात्रै गीत उत्कृष्ट हुन्छ र कम भ्युज आउँदैमा गीत खराब हुन्छ भन्ने निष्कर्ष पनि सही होइन । कतिपय उत्कृष्ट गीतहरू प्रचारको अभावमा ओझेलमा परेका छन् भने कतिपय सामान्य स्तरका सामग्रीहरू सामाजिक सञ्जालको प्रभावका कारण रातारात भाइरल भएका उदाहरण पनि छन् । यही वास्तविकतालाई बुझ्न जरुरी छ ।
गीतसंगीतमा लगानी गर्ने व्यक्तिको पीडा झनै फरक हुन्छ । कलाकारले पैसा मात्र खर्च गरेको हुँदैन, उसले आफ्नो सपना पनि लगानी गरेको हुन्छ । कसैले ऋण गरेर गीत बनाएको हुन्छ । कसैले वर्षौँ विदेशमा पसिना बगाएर बचाएको रकम संगीतमा खर्च गरेको हुन्छ । कसैले आफ्नो रहर पूरा गर्न सम्पत्ति बेचेर पनि गीत निर्माण गरेको हुन्छ । यस्तो अवस्थामा गीत नचल्दा हुने आर्थिक क्षतिभन्दा ठूलो चोट मनमा पर्छ ।
त्यसैले गीत संगीतको क्षेत्रमा गुणस्तर र जिम्मेवारीका विषयमा गम्भीर बहस हुन अत्यन्त आवश्यक छ । लाखौँ रुपैयाँ खर्च गरेर गीत निर्माण गर्ने कलाकार वा निर्माता पनि सचेत हुनुपर्छ । चर्चित गायकलाई गाउन दिएर, नाम चलेका कलाकारलाई भिडियोमा उतारेर वा महँगो क्यामेरा प्रयोग गरेर मात्रै गीत उत्कृष्ट बन्दैन । गीतको शब्द, संगीत, स्वर, अभिनय, प्रस्तुति र प्रचार रणनीति सबै पक्ष उत्तिकै महत्वपूर्ण हुन्छन् ।
अर्कोतर्फ कलाकारिता पनि ‘म कलाकार हुँ’ भनेर घोषणा गर्ने विषय मात्र होइन । कलाकारितासँग निश्चित जिम्मेवारी, क्षमता र योग्यता जोडिएको हुन्छ । वास्तविक गायक–गायिकाको स्वर, संगीतप्रतिको ज्ञान र प्रस्तुति क्षमतालाई सम्मान गर्ने वातावरण बन्नुपर्छ । गायन क्षेत्रमा आधारभूत प्रशिक्षण, स्वर परीक्षण र पेशागत मूल्य मान्यतालाई प्राथमिकता दिने संस्कार बसाल्न आवश्यक छ ।
यसको अर्थ नयाँ कलाकारले अवसर पाउनु हुँदैन भन्ने होइन । प्रतिभालाई रोक्नु हुँदैन । तर गीतसंगीत जस्तो संवेदनशील र सांस्कृतिक क्षेत्रलाई क्षणिक लोकप्रियताको माध्यम बनाउन पनि हुँदैन ।
आज अश्लील र उत्तेजक सामग्रीले सजिलै चर्चा पाउने वातावरण बन्दै गएको छ । यस्ता सामग्रीमा मानिसको ध्यान तत्काल आकर्षित हुन सक्छ । भ्युज पनि आउन सक्छ तर दीर्घकालसम्म समाजमा कस्तो प्रभाव पर्छ भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ । परिवारसँग बसेर सुन्न र हेर्न नसकिने गीतले क्षणिक चर्चा त पाउन सक्छ तर त्यसलाई नै सांगीतिक सफलताको अन्तिम मापदण्ड मान्न कदापि सकिँदैन ।
यदि हाम्रो समाजले अश्लीलता, उत्तेजना र छाडापनलाई नै प्रोत्साहन दिइरह्यो भने लोकजीवनको वास्तविक कथा बोकेका गीतहरू ओझेलमा पर्ने निश्चित छ । विदेशमा रहेका नेपालीको पीडा, किसानको दुःख, मजदुरको संघर्ष, आमाबुबाको माया, प्रेम र बिछोडका भावनाहरू, हाम्रो भाषा, संस्कृति र मौलिक पहिचान बोकेका गीतहरूले उचित स्थान पाउने छैनन ।
लोकगीत मनोरञ्जनको माध्यम मात्र नभएर यो समाजको ऐना हो । एउटा राम्रो लोकगीतले समयको कथा बोल्छ, पुस्तौँसम्म एउटा समाजको भावना सुरक्षित राख्छ । त्यसैले हामीले गीतको मूल्यांकन गर्दा ‘कति भ्युज आयो ?’ भनेर मात्र हेर्नु हुँदैन । गीतले के बोलिरहेको छ ? समाजलाई के दिइरहेको छ ? हाम्रो संस्कृति र मौलिकतालाई कसरी प्रस्तुत गरेको छ ? यसको शब्द र संगीतको स्तर कस्तो छ ? यी प्रश्न पनि उत्तिकै महत्वपूर्ण छन ।
आज मेरो गीत नचलेको हुन सक्छ । तीन लाख रुपैयाँ खर्च गरेर बनाएको गीतले अपेक्षित सफलता नपाउँदा मन दुखेको छ । तर एउटा कुरा भने म ढुक्कसँग भन्न सक्छु, मैले आफ्नो गीतमा कसैलाई भड्काउने उद्देश्य राखेको थिइनँ । मैले आफ्नो समाज, आफ्नो परिवार र आफ्नै जीवनले दिएको अनुभूतिलाई शब्दमा उतारेको हुँ ।
सायद मेरो गीत समयभन्दा अगाडि थियो, सायद प्रचारको कमी भयो, सायद बजारको पहुँच पुगेन, वा श्रोताको ध्यानसम्म पुर्याउने तरिका कमजोर भयो । कारण जे भए पनि, भावनाले भरिएको गीत गीत नै हुँदैन भन्ने मेरो मनले मान्दै मानेको छैन ।
राम्रो गीत लेख्ने र बनाउने मानिसलाई निरुत्साहित गर्नु होइन, उनीहरूको सिर्जनालाई सुन्ने र बुझ्ने संस्कार विकास गर्नु हो । भ्युज आवश्यक छ, लोकप्रियता पनि आवश्यक छ तर गीतको वास्तविक मूल्य अंकले तय गर्नु हुँदैन । किनकि गीत नचल्दाको पीडा उसैलाई थाहा हुन्छ, जसले आफ्नो जीवनको दुःख, पसिना र सपना खर्च गरेर एउटा गीत सिर्जना गरेको हुन्छ । र यही पीडा बुझ्ने दिनदेखि नै हाम्रो गीत संगीतको वास्तविक मूल्यांकन सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्