विभिन्न पार्टी परित्याग गरी ६ जना नेपाली कांग्रेस प्रवेश

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २१ भाद्र २०८३, आईतवार
2 Min Read
Aa

दाङ – विभिन्न राजनीतिक पार्टी परित्याग गरी ६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डे, क्षेत्रीय प्रवक्ता अजय न्यौपाने तथा नगर सभापति सन्तोष बुढाथोकी लगायतले पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गर्नुभएको हो ।

पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरूले सामूहिक रूपमा नेपाली कांग्रेस नै देश र जनताको हितमा काम गर्ने राम्रो र जिम्मेवार राजनीतिक पार्टी भएको धारणा राखेका थिए । प्रवेश गर्नेमा पुनाराम चौधरी, मोतिलाल चौधरी, विशाल चौधरी, दुखरामी चौधरी, ओमापति चौधरी र वीरबल चौधरी रहेका छन् ।

उनीहरूले मुलुक अहिले विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै यस्तो अवस्थामा देशलाई सही दिशा र निकास दिन सक्ने पार्टी नेपाली कांग्रेस मात्र भएको विश्वास व्यक्त गरेका छन् । लोकतन्त्र, संविधान र जनअधिकारको संरक्षणमा नेपाली कांग्रेसले ऐतिहासिक भूमिका खेल्दै आएको भन्दै उनीहरूले पार्टीप्रति आकर्षित भएर प्रवेश गरेको बताएका छन् ।

नवप्रवेशीहरूले सामूहिक रूपमा भने, “हामीले विभिन्न पार्टीको राजनीतिक गतिविधि नजिकबाट हेर्‍यौं र बुझ्यौं । देश र जनताको हित, लोकतन्त्रको रक्षा तथा मुलुकको समृद्धिका लागि नेपाली कांग्रेस नै राम्रो पार्टी रहेछ भन्ने निष्कर्षमा पुगेर कांग्रेसमा प्रवेश गरेका हौं ।” कार्यक्रममा नेपाली कांग्रेसका युवा नेताहरु कमलजंग सिंह ठकुरी, ईश्वरप्रकाश श्रेष्ठ, शिवप्रसाद चौधरी लगायतको उपस्थिति रहेको थियो ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरूले नवप्रवेशीहरूलाई पार्टीमा सक्रिय भूमिका निर्वाह गर्दै जनताको सुखदुःखमा साथ दिन आग्रह गरेका थिए । उनीहरूले नेपाली कांग्रेस सबै वर्ग, समुदाय र क्षेत्रको साझा लोकतान्त्रिक पार्टी भएकाले पार्टीप्रति जनविश्वास बढ्दै गएको बताएका थिए ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्