दाङ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नम्बर १ का चारवटै पालिकामा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट लमही नगरपालिका, राजपुर, गढवा र राप्ती गाउँपालिकामा नयाँ नेतृत्व चयन गरिएको छ ।
अधिवेशनबाट लमही नगरपालिकाको सभापतिमा सन्तोष बुढाथोकी, राजपुर गाउँपालिकाको सभापतिमा राम प्रताप यादव, गढवा गाउँपालिकाको सभापतिमा पुरन चौधरी र राप्ती गाउँपालिकाको सभापतिमा विद्या शरण चौधरी निर्वाचित भएका छन ।
लमहीमा बुढाथोकीको प्यानल विजयी
लमही नगरपालिकामा सभापति पदका लागि सन्तोष बुढाथोकी र राजेन्द्र खड्काबीच निर्वाचन भएको थियो । निर्वाचनमा बुढाथोकीले १७८ मत प्राप्त गर्दै खड्कालाई पराजित गरेका हुन् । खड्काले ७३ मत प्राप्त गरे । निर्वाचनमा बुढाथोकीको प्यानलले नगर समितिका एक सदस्य बाहेक सबै पदमा बहुमतसहित विजय हासिल गरेको छ ।
नगर उपसभापतिमा शंकर चौधरी र किरण चौधरी निर्विरोध निर्वाचित भएका छन् । सचिवमा प्रेम कालाथोकी र सहसचिवमा टेकबहादुर पुन निर्वाचित भएका छन् ।
नगर सदस्यतर्फ तुलसा विक, कल्पना पछाई, गोकर्ण केसी, निमा सुनार र सुमित्रा विक निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै केशव महरा, रञ्जित चौधरी र सुन्दर केसी निर्वाचनबाट सदस्यमा निर्वाचित भएका छन् ।
राजपुरमा राम प्रताप यादव विजयी
राजपुर गाउँपालिकामा सभापति पदका लागि राम प्रताप यादव र रामसागर यादवबीच प्रतिस्पर्धा भएको थियो । निर्वाचनमा राम प्रताप यादवले १०७ मत प्राप्त गर्दै विजयी भए भने उनका प्रतिस्पर्धी रामसागर यादवले ७४ मत प्राप्त गरे ।
राजपुरमा सहसचिव पद निर्विरोध चयन भएको थियो भने अन्य पदमा राम प्रताप यादवको प्यानल विजयी भएको छ। उपसभापतिमा सुवास पुन र धर्मी यादव, सचिवमा राजबहादुर यादव तथा सहसचिवमा झग्गी सार्की निर्वाचित भएका छन् ।
गढवा र राप्तीमा सहमतिबाट नेतृत्व चयन
गढवा गाउँपालिकामा नेतृत्व चयन सहमतिका आधारमा भएको छ । सभापतिमा पुरन चौधरी, उपसभापतिमा रमेश बजगाई र निर्मला परियार, सचिवमा पटवारी यादव तथा सहसचिवमा नारायण केसी चयन भएका छन् ।
त्यस्तै राप्ती गाउँपालिकामा पनि सहमतिका आधारमा नयाँ नेतृत्व चयन गरिएको हो । सभापतिमा विद्या सुन्दर चौधरी, उपसभापतिमा मावुल मोहम्मद र ताराकुमारी चौधरी, सचिवमा सूर्यप्रकाश भण्डारी तथा सहसचिवमा कमला देवी रेग्मी निर्वाचित भएका छन् ।
यससँगै दाङ निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतका चारवटै पालिकामा नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको अधिवेशन प्रक्रिया सम्पन्न भएको छ । राप्ती र गढवामा सहमतिबाट नेतृत्व चयन भए पनि लमही र राजपुरमा भने निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्