दाङ – जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ मा विभागीय टीम एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई ९५ रनकाे सामान्य लक्ष्य प्रस्तुत गरेकाे छ ।
लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेकाे एपीएफ क्लब २७ दशमलव ४ अाेभरमा अलअाउट हुँदै जम्मा ९४ रन बनायाे ।
नेपाल पुलिस क्लबका ललित राजवंशीले महत्त्वपूर्ण ६ विकेट लिएपछि एपीएफ ९४ रनमा समेटियो ।
ललितले ७ दशमलव ४ अाेभरमा जम्मा १८ रन खर्चेर ३ मेडनसहित ६ विकेट लिएपछि एपीएफकाे टीम सस्तैमा समेटिएको छ ।
एपीएफका लागि लाेकेश बमले २२ रन, अासिफ शेखले १८ रन, सन्दीप जाेराले २६ रन, अमर राैतेलाले १० रन जाेड्नु बाहेक अरु खेलाडी क्रिजमा टिक्न सकेनन् ।
ललितले अासिफ शेख, सन्दीप जाेरा, सुमित महर्जन, भुवन कार्की, कमलसिंह ऐरी र अभिशेष गाैतमलाई सिकार बनाउँदै ६ विकेट लिँदा सागर ढकाल, करण केसी, गल्सन झा, कुशल भुर्तेलले समान १-१ विकेट लिए ।
जारी प्रतियोगिता दुई टीम अपराजित छन् । पछिल्लो पाँच खेलमा पुलिस क्लब अपराजित टीम हाे भने एपीएफले चारमा जित र १ मा हार व्यहाेरेकाे छ ।
पिएम कपमा समान दुई खेल खेलेका दुई टिमले अाजकाे खेल जित्दै अंक तालिकामा थप सुधार गर्ने लक्ष्य राखेका छन् ।
एपीएफले दुई खेल मध्ये पहिलो खेलमा वाग्मती प्रदेशलाई १०० रन र दोस्रो खेलमा मधेश प्रदेशलाई २ विकेटले हराउँदै अंक तालिकाको दोस्रो स्थानमा छ ।
नेपाल पुलिस क्लब पनि दुई खेल मध्ये पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ८७ रनले र दोस्रो खेलमा कोशी प्रदेशलाई १५४ रनले हराउँदै अंक तालिकाको तेस्रो स्थानमा छ ।
सामान्य लक्ष्य पाएकाे पुलिसले एपीएफ विरुद्ध ठूलाे अन्तरले जित निकाल्दै अंक तालिकामा पनि सुधार गर्न चाहन्छ । पुलिस क्लबले अब केही बेरमा ९५ रनकाे विजयी लक्ष्य पछ्याउन जवाफी ब्याटिङ गरिरहेको छ ।
नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगिता अन्तरगत आज हुने एपीएफ क्लब र नेपाल पुलिस क्लब बिचको खेलका लागि भिआईपी टिकट शुल्क २ सय रुपैयाँ रहेको र अरु टिकटको हकमा निशुल्क प्रवेश गरिएको दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष तथा क्यान केन्द्रीय सदस्य प्रदीप मजगैँयाले जानकारी दिए ।
३ विभागीय टीम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टीमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता खेलीरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्