दाङ – जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ मा शुक्रबार भएको खेलमा विभागीय टीम नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई २ विकेटले पराजित गरेकाे छ ।
लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा एपीएफ क्लबले दिएकाे ९५ रनकाे लक्ष्य पुलिस क्लबले २६ दशमलव २ अाेभरमा ८ विकेटको क्षतिमा पूरा गर्याे ।
सामान्य लक्ष्य पछ्याएकाे पुलिसले जित निकाल्न संघर्ष गर्याे । अाठ विकेट गुमाई सकेकाेे अवस्था दवावमा पुगेकाे पुलिस क्लबलाई गुल्सन झाले चाैका प्रहार गर्दै जित दिलाए । अभिशेष गाैतमकाे बललाई लेगसाईडकाे दिशा देखाउँदै बाउन्ड्री लगाउँदै एपीएफ विरुद्ध जित निकाले ।
गुल्सनले २ चाैकासहित अविजित १२ रन बनाए । कुशल भुर्तेलले २ चाैकासहित ३१ रन बनाउँदा अर्जुन साउदले ११ रन, रासिद खानले १० रनकाे याेगदान दिए । एपीएफका लागि भुवन कार्कीले ७ अाेभरमा ३ मेडनसहित ३३ रन खर्चेर ३ विकेट लिए । यसैगरी, कप्तान राेहित पाैडेल र अभिशेष गाैतमले समान २-२ विकेट लिए । कमल ऐरीकाे नाममा १ विकेट रह्याे ।
यसअघि, विभागीय टीम एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई ९५ रन बनाएकाे थियाे । टस जितेर पहिले ब्याटिङ गरेकाे एपीएफ क्लब २७ दशमलव ४ अाेभरमा अलअाउट हुँदै जम्मा ९४ रन बनायाे ।
नेपाल पुलिस क्लबका ललित नारायण राजवंशीले महत्त्वपूर्ण ६ विकेट लिएपछि एपीएफ ९४ रनमा समेटिएकाे थियाे । ललितले ७ दशमलव ४ अाेभरमा जम्मा १८ रन खर्चेर ३ मेडनसहित ६ विकेट लिएपछि एपीएफकाे टीम सस्तैमा समेटियाे।
एपीएफका लागि लाेकेश बमले २२ रन, अासिफ शेखले १८ रन, सन्दीप जाेराले २६ रन, अमर राैतेलाले १० रन जाेड्नु बाहेक अरु खेलाडी क्रिजमा टिक्न सकेनन् ।
ललितले अासिफ शेख, सन्दीप जाेरा, सुमित महर्जन, भुवन कार्की, कमलसिंह ऐरी र अभिशेष गाैतमलाई सिकार बनाउँदै ६ विकेट लिँदा सागर ढकाल, करण केसी, गुल्सन झा, कुशल भुर्तेलले समान १-१ विकेट लिए । पुलिलकाे जीत अाधार तयार पार्न १८ रन दिएर ६ विकेट लिएका ललित नारायण राजवंशी प्लेयर अफ द म्याच भए ।
पछिल्लो पाँच खेलमा पुलिस क्लब अपराजित टीम हाे भने एपीएफले चारमा जित र २ मा हार व्यहाेरेकाे छ । एपीएफ विरुद्ध जित हासिल गर्दै पुलिस क्लबले अंक तालिकामा पनि सुधार गरेकाे छ ।जितसँगै पुलिस क्लब तीन खेलमा सतप्रतिशत जित निकाल्दै अंक तालिकाकाे दाेस्राे स्थानमा उक्लिएकाे छ भने एपीएफ क्लब तेस्रो स्थानमा झरेकाे छ ।
अंक तालिकाकाे शीर्ष स्थानमा त्रिभुवन अार्मी क्लब रहेकाे छ ।
जारी प्रतियोगितामा अब शनिबार मधेश प्रदेश र नेपाल पुलिस क्लब बिच बिहान ९ बजेपछि देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ ।
नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीय टीम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टीमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता खेलीरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्