दाङमा मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल शुरु, पाल्पा क्वाटरफाईनलमा

दाङ समाचार
दाङ समाचार १९ चैत्र २०८१, बुधबार
4 Min Read
Aa

दाङ – घोराहीमा मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिता २०८१ शुरु भएको छ । प्रदेश खेलकुद परिषद, लुम्बिनीको आयोजनामा बुधबारदेखि २३ गतेसम्म प्रदेशभरका १२ जिल्लाका खेलाडीको सहभागीतामा प्रतियोगिता शुरु भएको हो ।

घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित जिल्ला समन्वय समितिको सहिद मञ्चमा चार समुह विभाजन गरी प्रतियोगिता भईरहेको प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतमले जानकारी दिनुभयो । लिगकम नकआउटको आधारमा खेलाइएको मुख्यमन्त्री कप प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिता पहिलो दिन ६ वटा खेल भएको उहाँले बताउनुभयो ।

पहिलो दिन भएको खेल अनुसार, पाल्पामा लगातार दुई खेलमा जीत निकाल्दै क्वाटरफाईनल प्रवेश गरेको छ । चार समुह विभाजन गरी खेल तालिका बनाइएकोमा समुह ‘बी’ बाट पाल्पाले अर्घाखाँची र नवलपरासी पश्चिमलाई हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।
पहिलो खेलमा रुकुम पूर्वले गुल्मीलाई ३–० को सोझो सेटमा हरायो ।

दोस्रो खेलमा पाल्पाले अर्घाखाँचीलाई ३–० को सोझो सेटमा हराउँदा तेस्रो खेलमा बाँकेले प्यूठानलाई पनि ३–० कै सोझो सेटमा हराएको छ ।यसैगरी, चौथो खेलमा रुपन्देहीले दाङलाई ३–० कै सोझो सेटमा हराउँदा पाचौँ खेलमा रोल्पाले रुकुम पूर्वलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । छैठौँ खेलमा पाल्पाले नवलपरासी पश्चिमलाई ३–० को सोझो सेटमा पाखा लगाउँदै पाल्पाले क्वाटर फाईनलको यात्रा तय गरेको हो ।
प्रतियोगिता अन्तरगत बिहीबार पनि ६ वटा खेल हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा समुह ‘ए’ मा गुल्मी, रुकुम पूर्व, रोल्पा रहेका छन् । समुह ‘बी’ मा अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम रहेका छन् । समुह ‘सी’ मा बाँके, प्युठान, कपिलवस्तु रहेका छन् भने समुह ‘डी’ मा दाङ, रुपन्देही, बर्दिया रहेका छन् । प्रदेशमा दक्ष महिला खेलाडी उत्पादन गर्न र भलिबलको विकासका लागि प्रदेश स्तरीय प्रतियोगिता आयोजना गरिएको प्रदेश खेलकुद परिषद, लुम्बिनीले जनाएको छ ।

प्रतियोगिताको उपाधि जित्ने टीमले नगद एक लाख, मेडल, ट्रफी र प्रमाण–पत्र पुरस्कार पाउने छ भने उपविजेता टीमले नगद पैसट्टी हजार, मेडल, ट्रफी र प्रमाण–पत्र पुरस्कार पाउने आयोजक प्रदेश खेलकुद परिषदका सदस्य कैलाश रोका मगरले बताउनुभयो । यसैगरी, तृतीय पुरस्कार नगद पैतिस हजार, मेडल, ट्रफी र प्रमाण–पत्र र सान्त्वना हुने टीमले नगद पन्ध्र हजार प्रमाण–पत्र प्राप्त गर्ने उहाँले बताउनुभयो ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद दश हजार, मेडल, ट्रफी र प्रमाण–पत्र प्रदान गरिनुका साथै ६ विधामा उत्कृष्ट हुने खेलाडीलाई पनि जनही पाँच हजार, मेडल, ट्रफी र प्रमाण–पत्र प्रदान गरिने भएको उहाँले बताउनुभयो । यसैबीच, लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उदघाटन लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरीले गर्नुभयो ।

उहाँले खेलकुद केवल मनोरञ्जनको साधन मात्र नभई शारीरिक स्वास्थ्य र मानसिक सन्तुलनको आधार प्रमुख आधार रहेको पनि बताउनुभयो । स्वास्थ्यका लागि खेलकुद अपरिहार्य रहेपनि पछिल्लो समय खेलाडीहरूले मेहनत र लगनले खेल खेल्दा देशको नाम विश्वसामु चिनाउने काम पनि गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य कैलाश रोका, दिपेन्द्र कुमार डाँगी, घोराही नगर खेलकुद समिति संयोजक नरेन्द्र पुन, एथलेटिक्स प्रशिक्षक पद्मा चौधरीलगायतले प्रदेश भरका महिला भलिबल खेलाडीहरुको क्षमता प्रस्फुटन हुने आधार तयार भएको भन्दै यसले आपसी समन्वय र सहकार्य निर्माणको भावना जगाउने काम गरेको बताउनुभयो । उदघाटन समारोहको सहजीकरण परिषदका प्रशासन प्रमुख धनप्रसाद नेपालीले गर्नुभएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्