दाङ – विजय लघुवित्त वित्तिय संस्था लिमिटेडले गढवामा एक दिने वित्तीय साक्षरता सम्बन्धि प्रशिक्षण दिएको छ । स्थानीय समुदायमा वित्तीय अनुशासन, बचत, कर्जा व्यवस्थापन, बीमा, विप्रेषण, र डिजिटल वित्तीय सेवाहरूको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा सहभागी भएकालाई लघुवित्त भित्र रहेर गर्नु पर्ने काम कर्तव्य र अधिकार, बचत कसरी गर्ने, आम्दानीका स्रोत के के हुन्, ऋण कसरी सदुपयोग गर्ने, बैंक तथा वित्तिय संस्थाले कस्ता ऋणीलाई कालोसूचीमा राख्छ जस्ता महत्वपूर्ण विषयमा प्रशिक्षण प्रदान गरिएको छ ।
विजय लघुवित्त वित्तिय संस्थाका केन्द्रीय कार्यालयका अनुगमन अधिकृत तथा कलस्टर नम्बर १५ का प्रमुख कुम बहादुर थापाले सहभागीहरूलाई कर्जाको सदुपयोग, समयमै किस्ता भुक्तानी, कालोसूचीमा पर्ने जोखिम, र व्यवसायिक योजना निर्माणका विषयमा जानकारी दिनुभयो । साथै, वित्तीय अनुशासन कायम राख्न र अनावश्यक खर्च कटौती गर्न सुझाव दिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा गढवा गाउँपालिका-६ का वडा अध्यक्ष वीर बहादुर आलेले यस्ता तालिमहरूले स्थानीयलाई वित्तीय निर्णयमा सचेत बनाउने र आर्थिक रूपमा सशक्त बनाउन सहयोग पुर्याउने बताए । उनले कर्जा लिएपछि त्यसको सदुपयोग गरी समयमै भुक्तानी गर्नुपर्नेमा जोड दिए । सहभागीहरूले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएका छन् ।
विजय लघुवित्त वित्तिय संस्थाका केन्द्रीय कार्यालयका अनुगमन अधिकृत तथा कलस्टर नम्बर १५ का प्रमुख कुम बहादुर थापाको अध्यक्षता एवं गढवा गाउँपालिका- ६ का वडा अध्यक्ष वीर बहादुर आलेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । गढवा शाखा प्रमुख निम बहादुर थापाको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन विजय लघुवित्त वित्तिय संस्थाका कर्मचारी अर्जुन कुमार सुवेदीले गरेका थिए ।
विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले देशभरका ४५ जिल्लामा १३५ शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले विपन्न समुदायलाई लक्षित गरी वित्तीय ज्ञान, सीप, र बैंकिङ आदत विकास गर्न यस्ता तालिमहरूलाई निरन्तरता दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्