दाङ – नेपाल रेडक्रस सोसाइटीको समन्वयमा देउखुरी पब्लिक स्कुलले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । “रक्तदान जीवनदान हो” भन्ने मूल नारासहित सञ्चालित उक्त कार्यक्रमको उद्देश्य रगत अभावका समयमा देखिने समस्यालाई केही हदसम्म समाधान गर्नु रहेको स्कुलका प्रबन्धक तथा प्रधानाध्यापक भू-माण्डप केसीले बताए ।
उनले रक्तदानजस्ता मानवीय सेवाले समाजमा सकारात्मक सन्देश फैलाउने भन्दै यस्ता कार्यक्रमहरू विद्यालय स्तरमै निरन्तर सञ्चालन गर्नु प्रशंसनीय कार्य भएको बताए । शिक्षा मात्र होइन, सामाजिक उत्तरदायित्वको अभ्यास पनि गरौं भन्ने भावना राखेर विद्यालयले रक्तदान कार्यक्रम आयोजना गरेको प्रवन्धक केसीको भनाई छ ।
विद्यालयका शिक्षक, कर्मचारी, अभिभावक तथा शुभेच्छुकहरूले सक्रिय रूपमा सहभागिता जनाउँदै रक्तदान गरे । कार्यक्रममा रेडक्रसको मेडिकल टोलीले रक्त संकलनको जिम्मेवारी लिएका थिए । कार्यक्रमलाई थप सहज बनाउन स्कुलका अतिरिक्त क्रियाकलाप प्रमुख कुबिर गिरीले सहजीकरणको भूमिका निर्वाह गरेका थिए ।
गिरीले रक्तदानको सामाजिक उत्तरदायित्व र त्यसको सकारात्मक प्रभावबारे संक्षिप्त जानकारी समेत गराएका थिए । स्थानीयस्तरमा युवाहरूमा चेतना अभिवृद्धि गर्दै यस्ता कार्यक्रमहरूले सामूहिक भावना र सेवाभाव जगाउने आयोजकले विश्वास गरेको छ ।

प्रतिक्रिया दिनुहोस्