दाङ – लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरीले दिगो विकासका लक्ष्यहरू हासिल गर्न सबै पक्षबीच आपसी सहकार्य र समन्वय अत्यावश्यक रहेको उल्लेख गरे । आज शनिबार लमहीमा आयोजित कार्यक्रममा उनले भने, “सामाजिक, आर्थिक र वातावरणीय पक्ष समेटिएको दिगो विकास सुनिश्चित गर्न सरकार, नागरिक समाज, निजी क्षेत्र र स्थानीय समुदायको भूमिकालाई एकीकृत गर्नुपर्छ ।”
नगरप्रमुख चौधरीले स्थानीय तहमा दिगो विकास लक्ष्यहरूको कार्यान्वयन गर्न नीतिगत स्पष्टता, वित्तीय स्रोतको परिचालन, पारदर्शिता र जवाफदेहिता अत्यन्त जरुरी रहेको धारणा राखे ।
लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले नगरपालिकाको आन्तरिक आम्दानी वृद्धि गर्न बजेटको प्रभावकारी प्रयोग र स्थानीय स्रोतहरूको उच्चतम उपयोग गर्नुपर्नेमा जोड दिईन । पालिकाले सयमा सय प्रतिशत सूचक प्राप्त किन गर्न सकेन भनेर समिक्षा गर्नु पर्ने समय आएको उपप्रमुख योगीको भनाई छ । लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले स्वागत मन्तव्य राख्दै समावेशी नीति, पारदर्शी बजेट व्यवस्था, तथा दीर्घकालीन आर्थिक योजना नै नगरको समृद्धिको आधार हुने बताए ।
जलवायु अनुकुलनमा नगरपालिकाको पहलका विषयमा लमही नगरपालिका वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख गायत्री थापाले जानकारी गराएकी थिइन । नगरपालिका शासन र वित्त विज्ञ तथा नेपाल सरकारका पूर्व सचिव डाक्टर गोपीकृष्ण खनालले नगरपालिकाको वित्त व्यवस्थापन राजस्व सुधारमा प्रशिक्षण दिएका थिए । त्यस्तै दिगो विकास लक्ष्य स्थानीकरण प्रक्रियाको बारेमा प्रबल दाहाल, नगरपालिकाको स्व मूल्याङ्कन गर्ने टुल लिजा तथा लैङ्गीक उत्तरदायी बजेटको अन्तरसम्बन्धको बारेमा यूएन ह्याविटेड दाङ जिल्ला कार्यक्रम संयोजक वन्दना सिंहा लगायतले प्रशिक्षण दिएका थिए ।
लमही नगरपालिकाको आयोजनामा दिगो विकासका लक्ष्यहरूको स्थानीयकरण र नगरपालिकाको वित्तीय सुदृढिकरण विषयक अभिमुखीकरण तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । नगरभित्र दिगो विकास सुनिश्चित गर्न विभिन्न सरोकारवालासँग आयोजित उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामाजिक संघ संस्थाका प्रतिनिधि, तथा विकास साझेदारहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले पनि स्थानीय विकास योजना बनाउँदा दिगो विकास लक्ष्यहरूलाई समेट्ने, समुदायको सशक्त सहभागिता सुनिश्चित गर्ने र समावेशी विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।
उक्त कार्यक्रमले नगर तहमा दिगो विकासका लक्ष्यहरूलाई व्यवहारमा उतार्न रणनीतिक योजना, वित्तीय सुदृढिकरणका उपायहरू, र साझा जिम्मेवारीका आवश्यक पक्षहरूबारे स्पष्टता ल्याएको सहभागीहरूको धारणा छ । यस किसिमका छलफल तथा अभिमुखीकरण कार्यक्रमहरूले नीति निर्माणदेखि कार्यान्वयनसम्मको प्रक्रियामा सरोकारवालाको भूमिका बलियो बनाउँदै जाने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्