दाङ – घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित कलश बचत तथा ऋण सहकारी संस्थाले गाउँ–गाउँमा सहकारी शिक्षा तालिम सञ्चालन गरेको छ। नियमित मासिक कार्यक्रमअन्तर्गत शिक्षा उपसमितिको आयोजनामा घोराही–४ स्थित पालुथान टोल विकास संस्थामा सहकारीसम्बन्धी अन्तरक्रिया तथा शिक्षा कार्यक्रम सम्पन्न भएको हो।
शिक्षा उपसमितिका सदस्य खिमराज खनालको अध्यक्षता तथा कलश सहकारीका उपाध्यक्ष चन्द्रावति भण्डारीको प्रमुख आतिथ्यमा भएको तालिममा संस्थाका व्यवस्थापक प्रकाश अधिकारीले बचत तथा ऋणबारे जानकारी गराए भने बजार परियोजना प्रमुख कमल थपलियाले सहकारी बजारसम्बन्धी विषयमा प्रशिक्षण दिए।
कार्यक्रममा बोल्ने वक्ताहरूले सहकारीले नागरिकको जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै सबैलाई सहकारीमा आवद्ध हुनुपर्नेमा जोड दिए।
सो अवसरमा कलशका उपाध्यक्ष भण्डारीले सहकारीले बचतमा आकर्षक ब्याजदर र ऋणमा न्यूनतम ब्याजदर उपलब्ध गराएको भन्दै सबैलाई कलश सहकारीसँग जोडिन आग्रह गरिन्।
ऋण समितिका संयोजक एवं सञ्चालक समिति सदस्य इश्वरी प्रसाद आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पालुथान टोल विकास संस्थाका अध्यक्ष दोमाकान्त शर्मा, पालु सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मछिन्द्र कुमार शर्मा, सेयर सदस्यहरू दिलिप पन्थी, शोभाकर पन्थीलगायतले पनि आफ्नो विचार राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव विमल योगीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्