जीवनको उतरार्धमा सुधारिएको चुल्हो पाउदा खुसी

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २८ श्रावण २०८२, मंगलवार
6 Min Read
Aa

दाङ – लमही नगरपालिका–३, कान्छी टोलकी ७४ वर्षीया देउ कुमारी चौधरीको जीवन शान्त देखिए पनि भित्रभित्रै पीडाले भरिएको छ। श्रीमानको मृत्यु भएको धेरै वर्ष बितिसक्यो। छोराको घरमा बस्दै आएकी भए पनि उनको दैनिकी भने एक्लै खाना पकाउने, खाने र आफ्नै दुःख सहनेमा बित्छ ।

बुढ्यौलीको कमजोर शरीर लिएर बिहान बेलुकी भान्सामा दाउराको आगो बालेर खाना पकाउनु उनको बाध्यता हो। “तातो–चिसो पानी बिस्तारामा लग्दिने उमेर हो यो, तर अझै पनि आगो बालेर आफैंले पकाएर खानुपर्छ,” उनले आँखा रसाउँदै भनिन् । दाउरामा पकाएको धुवाँले उनको स्वास्थ्य बिग्रँदै गएको छ । खोकीले सताउन थालेको छ, आँखा धमिलो देख्न थालेको छ, र डाक्टरले फोक्सोमा समस्या देखाएको छ।

“छोराले ल्याइदिएको खानेकुरा पकाएर खान्छु, तर धुवाँको असरले श्वास फेर्नै गाह्रो हुन्छ,” देउ कुमारीको आवाज पीडाले भरिएको थियो। सोमबार उनी देउ कुमारीलाई लमही नगरपालिकाले झन्डै ६ हजार बराबरको सुधारिएको फलामे चुल्हो थमाई दिएको छ । अब भने उनको मनमा भएको पिडा कम हुँदै जाने छ ।

त्यस्तै लमही नगरपालिका–३, कान्छी टोलको साँघुरो गल्लीको एक छेउमा ७३ वर्षीया सुभागी चौधरीको घर छ । जीवनमा एक समय खुशीका दिन पनि थिए । श्रीमान् जिउँदो हुँदा बिहानको चिया पिएर बारीमा जान्थे, साँझ फर्केर आँगनमा बसी रमाइला कुरा गर्थे । तर, श्रीमान् बितेको त्यो कालो दिनपछि उनको जीवनको रङ नै हरायो । अब उनी छोरासँग बस्छिन्, तर छोराको काम मजदुरीको–आम्दानी जसले घरको खर्च मात्र धानेको छ । सुभागी बिहान सबेरै उठ्छिन् । हातमा सानो टोकरी, त्यसमा सुक्खा दाउरा । उनी भान्साको कुनामा रहेको पुरानो माटोको चुल्होमा आगो बाल्छिन् । धुवाँले आँखा रातो हुन्छ, खोकी रोकिँदैन । “ग्यास चुल्हो भए त सजिलो हुन्थ्यो,” उनले आफूलाई भन्छिन्, “तर पैसा भने सपना जस्तै हो ।”

छिमेकीको घरमा कहिले काहीँ ग्यासको सानो सिठ्ठी सुन्छिन्, त्यतिबेला मनमा एक किसिमको खालीपन भरिन्छ । उनी जान्दछिन—ग्यासमा पकाएको खाना छिटो, सजिलो र धुवाँरहित हुन्छ, तर त्यो सुविधामा पुग्ने बाटो उनको लागि लामो छ । सुभागीलाई सबैभन्दा डर के हो भने, उमेरसँगै हात–खुट्टा कमजोर हुँदै जानु। “अब दाउरा चिर्न सक्दिनँ भने के गर्ने?” उनी सोच्छिन्। तर जीवन भनेको चुनौतीसँगै बाँच्ने कला हो, र उनी पनि प्रत्येक दिन त्यो कला अभ्यास गर्दैछिन् ।

उनले मनमा एउटा सानो आशा पालिरहेकी छन—कुनै दिन आफ्नो भान्सामा पनि ग्यासको चुल्हो हुनेछ, जहाँ धुवाँ नभई न्यानो मात्र हुनेछ। त्यो दिन नआउन्जेल, सुभागीको जीवन दाउराको चुल्होको धुवाँसँगै निरन्तर बगिरहन्छ, तर उनका आँखामा अझै पनि अँध्यारोभन्दा बढी उज्यालो सपना चम्किरहेको छ । सोमबार सुभागी जस्तै ६१ जना एकल महिला, भुमिहिन, अपाङ्ग, महिला घरमुलि भएको परिवार, बिपन्न दलित परिवारले सुधारिएको फलामे चुल्हो पाएका छन् । चुल्हो पाउदा उनीहरु निकै खुसि भएका छन् ।

६१ घरपरिवारले सुधारिएकोे चुल्हो
हरितगृत ग्यास उत्सर्जन न्यूनीकरणको लागि खाना पकाउने आधुनिक दक्ष तथा जलवायूमैत्री स्वच्छ चुलो कार्यक्रम अन्तर्गत लमही नगरपालिका वडा नम्बर ३ मा सुधारिएको फलामे चुल्हो वितरण गरिएको छ । ८० प्रतिशत नेपाल सरकार (हरित जलवायु कोष), १५ प्रतिशत सिएसआरसि नेपाल र ५ प्रतिशत उपभोक्ताको सहलगानिमा सुधारिएको चुलो वितरण गरिएको लमही नगरपालिकाका वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख गायत्री थापाले जानकारी दिईन ।

पालिकाभरि ३ हजार चुल्हो बाड्ने छ तर पहिलो पटक एकल महिला, भुमिहिन, अपाङ्ग, महिला घरमुलि भएको परिवार, बिपन्न दलित परिवार गरि ५ सय ५० घरपरिवारलाई यो चुल्हो वितरण गरिने वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख गायत्री थापाको भनाई छ । त्यस्तै १ सय वटा बायो ग्यास र २ हजार इन्डेक्स चुलो बाडिने तयारी रहेको छ ।

यो चुल्होले हरितगृत ग्यास उत्सर्जन न्यूनीकरण, जङ्गल फडानी रोक्ने, वातावरण समरक्षण, पर्यावरण जोगाउने, हरित अर्थतन्त्रमा जोड दिने र कार्वन सन्चितीकरण मा टेवा पुराउने अपेक्षा पालिकाले लिएको छ । चुल्हो वितरण गर्दै लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले धुवाँबाट बच्न सुधारीएको चुलो आवश्यक रहेको बताए । सुधारीएको चुलोले दाउराको खपत घटाउने, चुलोको कार्यदक्षता बढाउने र घर भित्रको धुवाँ कम गर्ने भएकाले सुधारीएको आधुनिक चुलो प्रयोग गर्न सुझाव दिए । उनले भने ‘यो चुलो प्रयोगले धुवाँमा हुने हानिकारक कण र ग्यासको मात्रा धेरै हदसम्म घट्ने भएकाले दम, खोकी, निमोनीया, क्यान्सर, स्वाशप्रस्वास, फोक्सोका रोग, मुटु रोग,आँखा चिलाउने, मोतीबिन्दु र टाउको दुख्ने रोगबाट पनि बच्न सकिन्छ ।

त्यस्तै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले देश आर्थिक सङ्कटको अवस्थामा गुज्रिरहेका बेला खाना पकाउन विदेशबाट आयात हुँदै आएको एलपी ग्यासको प्रयोग घटाउन सुधारिएको चुलो प्रभावकारी हुने बताएकी छन् । सुधारिएको चुलो वितरण कार्यक्रममा बोल्दै उनले परम्परागत चुलोका कारण बढी दाउरा खपत हुने र एलपी ग्यासमा निर्भरता बढ्ने भएकाले विकल्पको खोजी आवश्यक रहेको बताइन् । “हाम्रो देश विदेशी मुद्रा सङ्कटको अवस्थामा छ, यस्तोमा आयातित एलपी ग्यासको प्रयोग कम गर्नु सबैको दायित्व हो,” उपप्रमुख योगीले भनिन् ।

लमही नगरपालिका –३ का वडा अध्यक्ष मनोज कुमार चौधरीले सुधारिएको चुलो प्रयोगले दाउराको खपत घटाउने, खाना पकाउने समय बचत गर्ने र घरभित्रको धुवाँ कम हुने भएकाले यसले वातावरणीय र स्वास्थ्य दुवै पक्षमा सकारात्मक प्रभाव पार्ने बताएका छन् । उनका अनुसार सुधारिएको चुलोले घरभित्रको वायु प्रदूषण कम हुने भएकाले परिवारको स्वास्थ्यमा सुधार आउनेछ भने दाउराको खपत घट्दा वन संरक्षणमा समेत टेवा पुग्नेछ ।

“यो प्रविधिले खाना पकाउने समय र श्रम दुबै बचत हुन्छ, साथै महिलाहरुको स्वास्थ्यमा पनि दीर्घकालीन लाभ पुग्छ,” वडा अध्यक्ष चौधरीले भने । स्थानीयवासीलाई सुधारिएको चुलो प्रयोग गर्न प्रोत्साहित गर्दै उनले यसलाई दिगो जीवनशैली र वातावरण संरक्षणको महत्वपूर्ण कदमका रूपमा लिने सुझाव दिएका छन् ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्