दाङ – अपांगता भएका व्यक्तिहरूलाई आवश्यक सहयोग पु-याउने उद्देश्यले लमही नगरपालिकाले १७ जनालाई ह्विलचेयर वितरण गरेको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मेनका खड्काका अनुसार शारीरिक अपांगता भएका मानिसलाई घर भित्र-बाहिर हिँडडुल सहज होस् भन्ने लक्ष्यसहित यो सहयोग गरिएको हो ।
वडा कार्यालयको सिफारिसका आधारमा वितरण गरिएको ह्विलचेयर पाउनेहरूमा वडा नम्बर १ का सुन्दर चौधरी र सुशील दमाई, वडा नम्बर २ का रत्न बहादुर ठेडी मगर, नरेश चौधरी र मनधरु चौधरी, वडा नम्बर ४ का हेलुनिया चौधरी, सुलेमान खान र शर्मिला चौधरी, वडा नम्बर ५ का जोख्नी चौधरी र राम किशन चौधरी, वडा नम्बर ६ का बुनिया चौधरी र बिल्लु चौधरी, वडा नम्बर ७ का गेहेन्द्र बहादुर चौधरी, वडा नम्बर ८ का जीत बहादुर खत्री र खीम बहादुर खत्री, तथा वडा नम्बर ९ का शिउ प्रसाद चौधरी र शुक्रराज कुमाल रहेका छन ।
गत वर्ष लमही नगरपालिकाले १८ वर्ष मुनिका अपांगता भएका बालबालिकालाई ह्विलचेयरसहित अन्य सामग्री वितरण गरेको थियो भने यस वर्ष आर्थिक रूपमा कमजोर विपन्न वर्गका व्यक्तिलाई प्राथमिकता दिइएको हो ।
ह्विलचेयर वितरण गर्दै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले मुलुकका तीनै तहका संरचनामा अपांगता भएका व्यक्तिको प्रतिनिधित्व न्यून रहेको उल्लेख गर्दै, शारीरिक अपांगता भए पनि बौद्धिक क्षमता र अधिकारको सम्मान गर्नुपर्नेमा जोड दिइन् । “यस किसिमको सहयोगले स्वास्थ्य, सामाजिक सहभागिता र आत्मविश्वास वृद्धिमा सकारात्मक योगदान पुर्याउनेछ,” उपप्रमुख योगीले भनिन् । उनले आगामी दिनमा पनि आवश्यकता अनुसार सहयोग र पुनःस्थापना कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएकी छन ,
त्यसैगरी वडा नम्बर ८ का अध्यक्ष उमेश कुमार खड्काले वडामा आर्थिक रूपमा कमजोर, गरिब तथा विपन्न परिवार छनोट गरेर नगरपालिकामा नाम सिफारिस गरिएको बताए । उनले जन्मजात वा विभिन्न दुर्घटनाका कारण अपांगता भएका व्यक्तिलाई हिँडडुलसँगै जीविकोपार्जनमा पनि सहयोग होस् भन्ने उद्देश्यले ह्विलचेयर सिफारिस गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्