कांग्रेस नेताद्वय न्यौपाने र यादवद्वारा सडक मानवलाई दर खुवाउनुका साथै खाद्यान्न र नगद सहयोग

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ३२ श्रावण २०८२, शनिबार
1 Min Read
Aa

दाङ – नेपाली कांग्रेसका महासमिति सदस्य गिरिजादेवी न्यौपाने र महाधिवेशन प्रतिनिधि धनपतिदेवी यादवले तीज पर्वको अवसरमा तुलसीपुर -६ गाईडहरमा रहेको मानव सेवा आश्रममा पुगेर आश्रममा आश्रय लिइरहेका ७५ जना सडक मानवलाई दर खुवाउनुका साथै खाद्यान्न र नगद सहयोग गरेका छन ।

महासमिति सदस्य न्यौपानेले तीजलाई भड्किलो र खर्चिलो बनाउनुभन्दा असहाय र घरबारविहीन व्यक्तिलाई सहयोग गर्नु नै मानवता भएको बताइन् । उनले भनिन्, “वर्षदिनमा एक पटक आउने तीजमा अनावश्यक खर्च गर्नुभन्दा भोको पेट भर्नु उत्तम हो । त्यसैले हामीले संयुक्त रुपमा सहयोग गरेका हौं ।”

त्यस्तै, कांग्रेस महाधिवेशन प्रतिनिधि तथा राजपुर गाउँपालिकाकी उपाध्यक्ष यादवले विक्षिप्त भएर परिवारबाट टाढा रहेका व्यक्तिहरूलाई सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको बताइन् । उनले भनेकी छन्, “चाडपर्वलाई विकृतिका रुपमा लिन थालेपछि महँगा होटल र पार्टी प्यालेसमा जाने प्रवृत्ति बढेको छ । यसले संस्कार र संस्कृति नै कमजोर बनाउँछ । त्यस्ता गलत अभ्यासलाई चुनौती दिन हामीले सडक मानवलाई सहयोग गरेका हौं र यसको अनुसरण सबैले गर्नुपर्छ ।”

कार्यक्रममा नेतृद्वयले आश्रमलाई १ सय २५ किलो चामल, २५ किलो दाल, ५ लिटर खाने तेल, नुन र १८ हजार रुपैयाँ नगद प्रदान गरेका छन् ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्