दाङ – लमही नगरपालिका वडा नम्बर ६ ले ६१ जना एकल महिला, भुमिहिन, अपाङ्ग, महिला घरमुलि भएको परिवार, बिपन्न दलित परिवारलाई सुधारिएको चुल्हो वितरण गरेको छ । सुधारिएको चुलो पाउँदा स्थानीयहरु खुसि भएका छन । चुल्हो वितरण गर्दै लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले धुवाँबाट बच्न सुधारीएको चुलो आवश्यक रहेको बताए । सुधारीएको चुलोले दाउराको खपत घटाउने, चुलोको कार्यदक्षता बढाउने र घर भित्रको धुवाँ कम गर्ने भएकाले सुधारीएको आधुनिक चुलो प्रयोग गर्न सुझाव दिएका छन ।
उनले भने ‘यो चुलो प्रयोगले धुवाँमा हुने हानिकारक कण र ग्यासको मात्रा धेरै हदसम्म घट्ने भएकाले दम, खोकी, निमोनीया, क्यान्सर, स्वाशप्रस्वास, फोक्सोका रोग, मुटु रोग,आँखा चिलाउने, मोतीबिन्दु र टाउको दुख्ने रोगबाट पनि बच्न सकिन्छ ।’
सुधारिएको चुलो वितरण गर्दै लमही नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष श्याम नारायण चौधरीले दाउराको खपत कम गरी वातावरण संरक्षण गर्ने उद्देश्य रहेको बताए । सुधारिएको चुल्हो नियमित प्रयोग गरे दाउरा कम लाग्नुका साथै वातावरण संरक्षणमा टेवा पुग्ने भएकोले प्राप्त गरेकाले चुल्होको सहि सदुपयोग गर्नु पर्ने वडा अध्यक्ष चौधरीको भनाई छ ।
हरितगृत ग्यास उत्सर्जन न्यूनीकरणको लागि खाना पकाउने आधुनिक दक्ष तथा जलवायूमैत्री स्वच्छ चुलो कार्यक्रम अन्तर्गत लमही नगरपालिका वडा नम्बर ६ मा सुधारिएको फलामे चुल्हो वितरण गरिएको छ । ८० प्रतिशत नेपाल सरकार (हरित जलवायु कोष), १५ प्रतिशत सिएसआरसि नेपाल र ५ प्रतिशत उपभोक्ताको सहलगानिमा सुधारिएको चुलो वितरण गरिएको लमही नगरपालिकाका वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख गायत्री थापाले जानकारी दिईन ।
पालिकाभरि ३ हजार चुल्हो बाड्ने छ तर पहिलो पटक एकल महिला, भुमिहिन, अपाङ्ग, महिला घरमुलि भएको परिवार, बिपन्न दलित परिवार गरि ५ सय ५० घरपरिवारलाई यो चुल्हो वितरण गरिने वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख गायत्री थापाको भनाई छ । त्यस्तै १ सय वटा बायो ग्यास र २ हजार इन्डेक्स चुलो बाडिने तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्