दाङ – संघीय शिक्षा ऐनमा निजी विद्यालय बन्द गर्ने प्रावधान राखिएको भन्दै दाङ देउखुरीका विभिन्न क्षेत्रमा शुक्रबार निजी विद्यालयका सञ्चालक र प्रधानाध्यापकहरूले शान्तिपूर्ण रुपमा बस गुडाएर बिरोध विरोध जनाएका छन । प्याब्सन, नेशनल प्याब्सन, हिसान र अपेनले संयुक्त रूपमा ‘गुणस्तरीय शिक्षा – निजी विद्यालयको प्रतिबद्धता’ भन्ने नारा दिँदै आन्दोलन गरेका हुन ।
र्यालीलाई सम्बोधन गर्दै प्याब्सनका केन्द्रीय सदस्य रेशम बहादुर बुढाले शिक्षा विधेयकको प्रावधान स्वीकार्य नभएको बताए । उनले भने, “निजी विद्यालय बन्द गर्न खोजिएको हो भने हामीले चाबी सरकारलाई बुझाउन तयार छौँ । आर्थिक कारोबारलाई चलायमान गराउनमा अहम भूमिका खेलेको निजी विद्यालयलाई राज्यले गरेको व्यवहार दुखद र निन्दनीय छ यो प्रावधान तुरुन्तै खारेज गरिनुपर्छ ।”
संगठनहरूले संघीय शिक्षा ऐनमा रहेका विवादास्पद प्रावधान सच्याएर निजी विद्यालयको योगदानलाई सम्मान गर्ने वातावरण बनाउन सरकारसँग माग गरेका छन ।
उनका अनुसार, आन्दोलनरत विद्यालयहरूले पूर्ण छात्रवृत्ति सम्बन्धी शब्द हटाउनुपर्ने, पोशाक, शैक्षिक सामग्री र खाजा उपलब्ध गराउनुपर्ने प्रावधान खारेज गर्नुपर्ने, कम्पनी ऐनअनुसार विद्यालयलाई गैरनाफामूलक बनाउनुपर्ने प्रावधान हटाउनुपर्ने, छात्रवृत्ति वितरणमा विद्यालयलाई अधिकार दिई पारदर्शी समिति गठन गर्नुपर्ने, र सामुदायिक विद्यालयमा मात्र उच्च शिक्षाका लागि छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था हटाउनुपर्ने लगायतका माग अघि सारेका छन ।
विद्यालय शिक्षा विधेयक शुक्रबार समितिबाट पारित गरिएको थियो । विधेयक पारित भएपछि सरोकारवाला निकाय आन्दोलित भएका हुन् । अब विधेयक प्रतिनिधिसभा हुँदै राष्ट्रिय सभामा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्