दाङ – लमही नगरपालिका-७ मा रहेको दीपन सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले आजदेखि तरकारी संकलन गरी बिक्री वितरण कार्य औपचारिक रूपमा सुरु गरेको छ । सहकारीमा आवद्ध र बाहिरका किसानले उत्पादन गरेका विभिन्न तरकारी सो सहकारीको बिक्री केन्द्रमार्फत विक्री गर्ने व्यवस्था गरिएको हो ।
उद्घाटन कार्यक्रममा लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले बजार मूल्यको मार खेपिरहेका किसानका लागि यो बिक्री केन्द्र राहतस्वरूप हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले किसानले उत्पादन गरेको तरकारीको उचित मूल्य पाउने, उपभोक्ताले ताजा र सस्तो दरमा तरकारी खरिद गर्न सक्ने र बीचौलियाको प्रभाव घट्ने अपेक्षा पनि व्यक्त गर्नुभयो ।
किसानले उत्पादन गरेको तरकारी बारिकै छेउबाट उचित मूल्यमा बिक्री गर्न पाउँदा खुशी व्यक्त गरेका छन् । अघिल्ला वर्षहरूमा बारिमै कुहिएर नष्ट हुने तरकारी अब सहजै बजारमा पुग्ने विश्वास किसानहरूले लिएका छन् ।
लमही नगरपालिका–८ सतबरियाका किसान देउमणी चौधरीले ४ बिगाह जमिनमा तरकारी खेती गर्दै आउनुभएको छ । उहाँले लामो अनुभवका आधारमा भन्नुभयो, “थोरै खेती गर्नेका लागि बिक्री गर्न कठिन हुन्छ, तर धेरै जग्गामा खेती गर्नेका लागि सजिलो छ, किनभने ठूला व्यापारी बारिमै तरकारी लिन आउँछन् ।”
त्यस्तै घोराही–२ रामपुर निवासी किसान शेरबहादुर चौधरीले पछिल्ला चार वर्षदेखि देउखुरीको सतबरियामा ४ बिगाह जमिन भाडामा लिएर तरकारी खेती गर्दै आउनुभएको छ । उहाँले २२ कट्ठामा युएस–९१७ जातको खुर्सानी खेती गर्नुभएको छ । यो खुर्सानी छिटो टिप्न मिल्ने र अन्य जातभन्दा १० दिनअघि नै तयार हुने भएकाले उत्पादन लाभदायक हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
सतबरियामा किसानले प्रति कट्ठा दुईदेखि दुई हजार पाँच सय रुपैयाँसम्म भाडा तिरेर खेती गर्दै आएका छन् । सहकारीका अध्यक्ष पुनम घर्ती मगरका अनुसार, “किसानले उत्पादन गरेका तरकारी लिन सहकारी आफैं बारिसम्म जान्छ । तर यदि किसानले तरकारी बिक्री केन्द्रमा ल्याए भने ढुवानी खर्च पनि सहकारीले नै व्यहोर्छ ।”
हाल दीपन सामाजिक उद्यमी महिला सहकारीमा पाँच कट्ठा भन्दा बढी क्षेत्रफलमा तरकारी खेती गर्ने दुई सय पचासभन्दा बढी किसान आबद्ध छन् । किसानद्वारा उत्पादित तरकारीको बजारीकरणमा सहजता ल्याउन सहकारीले ९ सदस्यीय “तरकारी बजारीकरण समिति” गठन गरेको छ, जसको संयोजक अध्यक्ष आफैं हुनुहुन्छ ।
दीपन कृषि उपज संकलन केन्द्र स्थापनाका लागि दीपन सहकारीको १० लाख ५७ हजार रुपैयाँ, हेफर इन्टरनेसनलको सहयोगमा ७ लाख रुपैयाँ, र ग्रामीण महिला उत्थान केन्द्र दाङको सहभागितासहित १७ लाख ५७ हजार रुपैयाँमा केन्द्र स्थापना गरिएको हो ।
यो पहलले किसानलाई उचित मूल्यमा बजार पहुँच दिलाउने र उपभोक्तालाई ताजा, स्वदेशी उत्पादन सहजै उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्