दाङ – लमही नगरपालिका भित्र रहेका टोल विकास संस्थाको काम, कर्तव्य र अधिकारका विषयमा स्पष्टता ल्याउने उद्देश्यसहित टोल विकास समितिहरूसँग अन्तरक्रिया कार्यक्रम आज शनिबार सम्पन्न भएको छ । कार्यक्रममा लमही नगरपालिकाको आर्थिक ऐन २०८२ मा गरिएको संशोधन, टोलको सरसफाइ व्यवस्थापन, तथा टोल विकास संस्थाको लेखापरीक्षण र नवीकरणसम्बन्धी विषयमा व्यापक छलफल गरिएको थियो ।
अन्तरक्रिया कार्यक्रममा विभिन्न टोल विकास समितिका पदाधिकारीहरूले आफ्ना टोलमा देखिएका समस्या, प्रशासनिक जटिलता, आर्थिक पारदर्शिता, सरसफाइ व्यवस्थापन र संस्थागत नवीकरण प्रक्रियासम्बन्धी गुनासाहरू प्रस्तुत गरेका थिए ।
उक्त गुनासाहरूको जवाफ दिंदै लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले टोल विकास संस्था स्थानीय शासनको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै नगरपालिकाले टोलहरूसँग सहकार्य गरेर विकास र सरसफाइका कामलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आर्थिक ऐन २०८२ मा भएका संशोधित प्रावधानहरू टोलहरूको पारदर्शिता, उत्तरदायित्व र कार्यक्षमता अभिवृद्धि गर्न केन्द्रित रहेको बताउनुभयो ।
उपप्रमुख लक्ष्मी योगीले टोल विकास संस्थाहरूलाई स्थानीय विकासको मेरुदण्डको रूपमा उल्लेख गर्दै सरसफाइ, सामुदायिक सहभागिता र सामाजिक एकतामा टोलहरूको भूमिका अझ सुदृढ हुनुपर्नेमा जोड दिनुभयो । उहाँले टोलको लेखापरीक्षण र नवीकरणलाई नियमित र व्यवस्थित बनाइ नगरपालिकाले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले आर्थिक अनुशासन, अभिलेख व्यवस्थापन र वार्षिक लेखापरीक्षणको महत्त्वबारे जानकारी दिँदै टोल विकास संस्थाहरूलाई कानुनी र संस्थागत मापदण्डभित्र रहेर काम गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेलले वडास्तरमा टोल विकास संस्थासँग समन्वय गरेर सरसफाइ, विकास र सामाजिक कामलाई अघि बढाइने स्पष्ट पार्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा सहभागी टोल विकास समितिका पदाधिकारीहरूले नगरपालिकाबाट प्राप्त जानकारीले आफ्ना कामकाज थप व्यवस्थित र पारदर्शी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन साथै टोल विकास समितिलाई अधिकार मात्र दिएर नहुने भन्दै कार्यान्वयन पक्षमा गम्भीर ध्यान दिन आग्रह गरेका छन । लमही नगरपालिका -३ का वडा अध्यक्ष मनोज कुमार चौधरी, ६ का वडा अध्यक्ष श्याम नारायण चौधरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा योजना शाखा प्रमुख सुनिता पोख्रेलले टोल विकास समितिका काम कर्तव्यको बारेमा जानकारी गराउनु भएको थियो भने सहजीकरण विपद शाखा प्रमुख गायत्री थापाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्