लमहीमा राजस्व, व्यवसाय व्यवस्थापन तथा दर्ता नवीकरण घुम्ती शिविर सुरु

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १२ माघ २०८२, आईतवार
4 Min Read
Aa

दाङ – लमही नगरपालिकाले राजस्व संकलनलाई सहज बनाउने र व्यवसाय व्यवस्थापनलाई व्यवस्थित गर्ने उद्देश्यले राजस्व, व्यवसाय व्यवस्थापन तथा व्यवसाय दर्ता एवं नवीकरण सम्बन्धी घुम्ती शिविर आजदेखि सुरु गरेको छ । नगर क्षेत्रभित्रका व्यापारी, उद्यमी तथा व्यवसायीलाई नगरपालिकाको सेवा ढोकैमा उपलब्ध गराउने लक्ष्यका साथ यो शिविर आयोजना गरिएको हो ।

शिविरको उद्घाटन गर्दै लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले स्थानीय सरकारको सेवा नागरिकको घरदैलोमै पुर्‍याउने नीति अनुसार घुम्ती शिविर सञ्चालन गरिएको बताउनुभयो । उहाँले व्यवसाय दर्ता र नवीकरण नगरी सञ्चालन हुने गतिविधिले नगरको राजस्वमा असर पार्ने भएकाले सबै व्यवसायीलाई कानुनी दायरामा आउन आग्रह गर्नुभयो । नगर प्रमुख चौधरीले कर तिर्नु दण्ड नभई नगर विकासमा लगानी भएको उल्लेख गर्दै नगरपालिकाले करदातालाई सम्मान गर्ने नीति लिएको पनि बताउनुभयो ।

उपप्रमुख लक्ष्मी योगीले व्यवसायी र नगरपालिकाबीच सहकार्य भए मात्र समृद्ध स्थानीय अर्थतन्त्र निर्माण सम्भव हुने बताउनुभयो । उहाँले महिलामैत्री तथा साना उद्यममैत्री नीति अवलम्बन गर्दै नगरपालिकाले व्यवसाय विस्तारमा सहजीकरण गरिरहेको उल्लेख गर्नुभयो । घुम्ती शिविरले व्यवसायीको समय र खर्च बचत गर्दै सेवा सहज बनाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले नगरपालिकाको आन्तरिक आय वृद्धि र सेवा प्रवाहलाई चुस्त बनाउने उद्देश्यले यो कार्यक्रम ल्याइएको जानकारी दिनुभयो । उहाँले दर्ता, नवीकरण, कर भुक्तानी र विवरण अद्यावधिक जस्ता सबै सेवा एकै ठाउँबाट दिने व्यवस्था गरिएको बताउँदै कर प्रणालीलाई पारदर्शी र डिजिटल प्रणालीतर्फ लैजान पनि तयारी भइरहेको जानकारी दिनुभयो ।

त्यसैगरी देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमल जंग सिंह ठकुरीले नगरपालिकाले व्यवसायीको समस्या बुझ्दै घरदैलोमै सेवा ल्याउनु सकारात्मक पहल भएको बताउनुभयो । उहाँले व्यवसायीहरूलाई नियमित दर्ता र नवीकरण गरी कानुनी हैसियतमा रहन आग्रह गर्दै नगरपालिकासँग सहकार्य गरेर स्थानीय बजारलाई व्यवस्थित र प्रतिस्पर्धी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

घुम्ती शिविरबाट नयाँ व्यवसाय दर्ता, वार्षिक नवीकरण, कर तथा शुल्क भुक्तानी, प्रमाणपत्र वितरण र परामर्श सेवा उपलब्ध गराइने लमही नगरपालिका राजस्व शाखा प्रमुख अम्विका शर्माले जानकारी दिनु भयो । यो शिविर आगामी फागुन १५ सम्म सञ्चालन हुने भएकाले सबै व्यवसायीलाई सहभागी भई सेवा लिन शाखा प्रमुख शर्मा आग्रह गर्नु भयो ।

घुम्ती शिविरमार्फत व्यवसायीहरूले नयाँ व्यवसाय दर्ता, वार्षिक नवीकरण, कर तथा शुल्क बुझाउने, व्यवसाय प्रमाणपत्र प्राप्त गर्ने, कर दर र नियमसम्बन्धी परामर्श तथा व्यवसायिक विवरण अद्यावधिक जस्ता सेवाहरू एकै ठाउँबाट पाउन सक्नेछन । यसले कार्यालय धाउनुपर्ने झन्झट हटाई समय र खर्च दुबैको बचत हुने भएपछि व्यवसायीहरू खुसी भएका छन । साथै कर, दस्तुर र कानुनी प्रक्रिया बुझ्न सहज हुँदा व्यवसाय सञ्चालन पनि थप पारदर्शी र व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

स्थानीय सरकारका लागि पनि यो घुम्ती शिविर निकै उपयोगी हुने नगरपालिकाले जनाएको छ । शिविरमार्फत करको दायरा विस्तार, राजस्व संकलन वृद्धि, अवैध वा दर्ता नभएका व्यवसाय पहिचान, व्यवसायिक तथ्यांक अद्यावधिक तथा नियमितता प्रवर्द्धन गर्न मद्दत पुग्नेछ । यसले नगरपालिकाको आन्तरिक आय मजबुत भई विकास निर्माण, सरसफाइ, पूर्वाधार र सार्वजनिक सेवामा लगानी बढाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

यो शिविरले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने र कर प्रणालीलाई न्यायोचित तथा प्रभावकारी बनाउने लमही नगरपालिकाले अपेक्षा गरेको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्