दाङ – गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीद्वारा आयोजित पूर्ण पूर्व–प्राथमिक विद्यालय तथा पूर्ण प्राथमिक शिक्षा कार्यक्रम अन्तर्गत आयोजित समारोहमा लमही नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेलले विद्यालय शिक्षा बालबालिकाको भविष्य निर्माणको आधार भएको बताउनु भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले प्रारम्भिक बालशिक्षाले नै बालबालिकाको व्यक्तित्व विकास, अनुशासन, नैतिकता र सिकाइ क्षमतामा दीर्घकालीन प्रभाव पार्ने उल्लेख गर्नुभयो । “बालबालिकाले पाउने पहिलो औपचारिक शिक्षा नै उनीहरूको जीवन यात्राको मार्गनिर्देशक हुन्छ,” उहाँले भन्नुभयो ।
लमही नगरपालिका – ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदीले गोरखा मोडेल सेकेण्डरी स्कुलले गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र संस्कारयुक्त शिक्षामा जोड दिँदै उदाहरणीय काम गरिरहेको भन्दै विद्यालय परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो । साथै उहाँले अभिभावकलाई विद्यालयसँग समन्वय गरी बालबालिकाको पढाइ, आचरण र रुचिमा निरन्तर ध्यान दिन आग्रह गर्नुभयो ।
वडा अध्यक्ष सुवेदीले स्थानीय सरकार शिक्षा क्षेत्रको प्रवर्द्धनमा प्रतिबद्ध रहेको जनाउँदै वडा भित्रका विद्यालयको पूर्वाधार, शैक्षिक गुणस्तर र शिक्षक क्षमतावृद्धिमा आवश्यक सहयोग गरिने बताउनु भयो। “शिक्षामा लगानी भनेको राष्ट्रको भविष्यमा लगानी हो,” उहाँले जोड दिनुभयो ।
कार्यक्रममा स्वास्थ्यकर खाना र पत्रुखानाको असर विषयमा कथा वाचन तथा अभिनय प्रस्तुत गरिएको थियो । यस्तै, मोबाइल फोन र पुस्तकको प्रयोग तथा दुरुपयोग, त्यसका फाइदा–बेफाइदा विषयमा बालबालिकाले अभिनयमार्फत सशक्त सन्देश दिएका थिए । सानो परिवारको महत्व, ठूलो परिवारका चुनौती, पुस्तक अध्ययनको लाभ, जीवनोपयोगी अभ्यास, संस्कार र शिष्टाचार तथा ट्राफिक सचेतना जस्ता विषयहरू पनि कार्यक्रम मार्फत व्यक्त गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक लोकमान रिजालले स्वागत मन्तव्य राख्दै विद्यालय पठाउँदैमा मात्र अभिभावकको जिम्मेवारी पूरा नहुने बताउनुभयो ।
प्रधानाध्यापक रिजालले बालबालिकाको सर्वाङ्गीण विकासका लागि घर र स्कुलबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो । “बच्चाको सामाजिक, भावनात्मक र बौद्धिक विकास घर–स्कुलको सहकार्यबाट मात्र सम्भव हुन्छ,” उहाँले भन्नुभयो । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षकद्वय दिप्ति शर्मा र शिला रिजालले गर्नुभएको थियो । कार्यक्रममा अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्