दाङ – लमही नगरपालिका उपभोक्ता हित संरक्षण तथा अनुगमन शाखाले लमही बजार क्षेत्रमा रहेका विभिन्न व्यवसायिक प्रतिष्ठानहरूको अनुगमन गरेको छ । बैंक, सुनचाँदी पसल, मिष्ठान भण्डार, कन्सल्टेन्सी, फेन्सी पसल, किराना पसल, जुत्ता–चप्पल पसल, गेष्ट हाउस लगायतमा अनुगमन गरिएको हो ।
शाखा प्रमुख शिवराज न्यौपानेका अनुसार अनुगमनका क्रममा ती व्यवसायहरू दर्ता तथा नविकरण भएको–नभएको विषयमा जानकारी संकलन गरिएको हो । दर्ता नविकरण नगरी सञ्चालनमा रहेका पसल तथा फर्महरूलाई समयमै प्रक्रिया पूरा गर्न सचेत गराइएको उनले बताए ।
अनुगमन टोलीमा उपभोक्ता हित संरक्षण तथा अनुगमन शाखा प्रमुख शिवराज न्यौपाने, सदस्यहरू कमल विसी र नरेन्द्र गुप्ता, लमही चेम्बर अफ कमर्सका महासचिव नारायण भुसाल, सह–कोषाध्यक्ष सपना पाण्डे, वडा प्रहरी कार्यालय लमहीका प्रतिनिधि तथा नगर प्रहरीको सहभागिता रहेको थियो ।
अनुगमनका क्रममा धेरैजसो पसलहरू दर्ता नविकरण नगरी सञ्चालन गरिएको पाइएको शाखाले जनाएको छ । नगरपालिकाले बजार व्यवस्थापनलाई व्यवस्थित र उपभोक्ताको अधिकार सुरक्षित गर्न यस्ता अनुगमन कार्यलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्