टोल विकास संस्थालाई आर्थिक प्रोत्साहन अनुदान दिइने, मेयर कप प्रतियोगिताका लागि ६ लाख विनियोजन

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १५ माघ २०८२, बुधबार
2 Min Read
Aa

दाङ – “लमही नगर निर्माण महाअभियान” अन्तर्गत लमही नगरपालिकाले टोल विकास संस्थाको क्षमता विकासका लागि प्रोत्साहन स्वरूप आर्थिक अनुदान प्रदान गर्ने निर्णय गरेको छ । आज बसेको नगर कार्यपालिकाको बैठकले कार्य सम्पादनका आधारमा उत्कृष्ट हुने टोल विकास संस्थालाई क्रमशः पहिलो हुनेलाई ५० हजार रुपैयाँ, दोस्रो हुनेलाई ३५ हजार रुपैयाँ र तेस्रो हुनेलाई २५ हजार रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरेको नगर प्रमुख जोगराज चौधरीले जानकारी दिनुभयो ।

बैठकले सडक बोर्ड नेपालबाट प्राप्त हुने २० लाख रुपैयाँ बजेटबाट लमही नगरपालिका–५ भित्रका बजार क्षेत्रका सडक मर्मत गर्ने निर्णय समेत गरेको छ । सो बजेटमध्ये बाँकी रकम शितलापुर जाने सडकको मर्मत–सम्भारमा खर्च गरिने नगरपालिकाले जनाएको छ ।

त्यसैगरी नगरभित्र रहेका घर नक्साको अभिलेखीकरण २०८३ साल असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यसहित सूचना प्रकाशन गर्ने निर्णय पनि कार्यपालिकाले गरेको छ । मेयर कप क्रिकेट प्रतियोगिताको लागि ६ लाख रुपैया समेत विनियोजन गर्ने निर्णय भएको छ । नगर प्रमुख चौधरीका अनुसार यस निर्णयले नगरको व्यवस्थित विकास, सेवा प्रवाह र अभिलेख व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ ।

जेनजी युवा पुस्ताहरुले बजार व्यवस्थापन र मेयर कप प्रतियोगिताका लागि उठाउदै आएको विषय र बजार व्यवस्थापन तथा सडक मर्मत साभारको काम समेत हुने भएको छ ।  नगरपालिकाका यी निर्णयहरूले स्थानीय विकासमा नागरिकको सहभागिता बढाउने, पूर्वाधार सुधार गर्ने र नगर व्यवस्थापनलाई चुस्त बनाउने अपेक्षा गरिएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्