दाङ – लमहीमा सञ्चालन भइरहेको लमही महोत्सवको आज अनुगमन गरिएको छ । लमही नगरपालिका उपभोक्ता हित संरक्षण शाखाको अग्रसरतामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तुलसीपुर, देउखुरी उद्योग वाणिज्य संघ लमही, लमही चेम्बर अफ कमर्स, लमही होटल व्यवसायी समिति लगायतको संयुक्त टोलीले महोत्सव स्थलको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा मेलामा सञ्चालनमा रहेका व्यवसायीहरूले बिक्री गरिरहेका खाद्य वस्तुहरूमा अखाद्य पदार्थ मिसाइएको छ कि छैन, मूल्य निर्धारण गरिएको छ कि छैन लगायतका विषयमा निरीक्षण गरिएको लमही नगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख शिवराज न्यौपानेले जानकारी दिनु भयो ।
न्यौपानेका अनुसार अनुगमनका क्रममा खाद्य वस्तुमा अखाद्य पदार्थ मिसाइएको जस्ता गम्भीर समस्या भने फेला नपरेको तर अधिकांश पसलहरूले मूल्य सूची सेवाग्राहीले देख्ने गरी नराखेको पाइएको छ ।
न्यौपानेले व्यवसायीहरूलाई तत्काल मूल्य सूची स्पष्ट रूपमा राख्न र उपभोक्तालाई ठगी नहुने गरी सेवा दिन आग्रह गरिएको जानकारी दिनुभयो । साथै आगामी दिनमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिइने र नियम विपरीत कार्य गर्ने व्यवसायीमाथि आवश्यक कारबाही गरिने चेतावनी समेत दिइएको छ ।
अनुगमनपछि उपभोक्ताले निर्धारण गरिएको मूल्य अनुसार मात्र सेवा लिने र कुनै अनियमितता देखिएमा नगरपालिकालाई जानकारी गराउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्