दाङ – २०८० साल कार्तिक १७ गते जाजरकोटमा गएको विनाशकारी भूकम्पले देश नै थिलथिलो बनाएको बेला राज्यका संयन्त्र पूर्ण रूपमा प्रभावित क्षेत्रमा पुग्न सकेका थिएनन् । भूकम्पपछि जाजरकोटका धेरै स्थानीय घरबारविहीन बनेर अत्यन्तै कष्टकर जीवन बिताउन बाध्य थिए । चिसो मौसम, खानेपानी, ओत र औषधोपचारको अभावले पीडितको दैनिकी झनै पीडादायी बनेको थियो ।
यही कठिन परिस्थितिमा नेपाली काङ्ग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य योगेन्द्र चौधरी पीडितको घाउमा मल्हम लगाउने संकल्पसहित जाजरकोट पुग्नु भएको थियो । जनताको दुःखमा साथ दिनु नै साँचो राजनीति हो भन्ने मान्यताका साथ उहाँ कुनै प्रचार वा सस्तो लोकप्रियताका लागि नभई मानवीय भावनाले प्रेरित भएर सहयोगका लागि जाजरकोट पुग्नु भएको हो ।
नेता चौधरी नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर–१ का सचिव खेम चौधरी, नगर उपसभापति जग नारायण चौधरी, क्रियाशील सदस्य भरतलाल चौधरी तथा घर टहरा निर्माण गर्ने मिस्त्रीसहित जाजरकोटको नलगाढ नगरपालिका अन्तर्गत पाली भन्ने गाउँमा पुग्नु भएको थियो । त्यहाँ करिब १६ दिन बसोबास गर्दै उहाँहरूको टोलीले भूकम्पपीडितका लागि २३ वटा अस्थायी घर टहरा निर्माण गरेको थियो ।
जाजरकोटमा निर्माण गरिएका जस्तापाताका टहरा पूर्ण रूपमा योगेन्द्र चौधरीकै व्यक्तिगत पहल र स्रोतबाट निर्माण गरिएको बताइएको छ । चिसो मौसममा खुला आकाशमुनि बस्न बाध्य पीडितलाई सुरक्षित बसोबासको व्यवस्था गरिदिँदै उहाँले उनीहरूको पीडा कम गर्ने प्रयास गर्नु भएको थियो । घर निर्माणसँगै उहाँले पीडितहरूसँग प्रत्यक्ष भेटघाट तथा कुराकानी गर्दै उनीहरूको समस्या, आवश्यकता र अवस्थाबारे जानकारी लिनु भएको थियो ।
भूकम्प पीडितहरूले नेता चौधरीको यो मानवीय कदमको खुलेर प्रशंसा गरेका थिए । उनीहरूले भाषण र आश्वासनभन्दा पनि यस्तो व्यवहारिक सहयोग नै वास्तविक नेतृत्वको उदाहरण भएको प्रतिक्रिया दिएका छन् ।
यसैबीच, जाजरकोट भूकम्प पीडितको घाउमा मल्हम बनेका योगेन्द्र चौधरीलाई आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि दाङ क्षेत्र नम्बर–१ बाट नेपाली काङ्ग्रेसले उम्मेदवार बनाएको छ । सामाजिक सेवा र विपद् व्यवस्थापनमा देखाएको सक्रिय भूमिकाले उहाँलाई जनतामाझ लोकप्रिय बनाएको छ ।
नेता चौधरीले आफूले गरेको सहयोग कुनै प्रचारका लागि नभई नागरिकप्रतिको दायित्व सम्झेर गरिएको बताउँदै आगामी दिनमा पनि विपद् र संकटमा परेका जनताको साथमा निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाँको यो कार्यले राजनीतिक नेतृत्व केवल भाषणमा होइन, व्यवहारमा पनि जनताको साथमा उभिनुपर्छ भन्ने सन्देश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्