लमही नगर निर्माण महाअभियानअन्तर्गत नाली सरसफाइ अभियान सुरु

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १३ फाल्गुन २०८२, बुधबार
2 Min Read
Aa

दाङ – “लमही नगर निर्माण महाअभियान” भन्ने मुख्य नारासहित केही महिनादेखि सरसफाइ तथा सौन्दर्यीकरणका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको लमही नगरपालिकाले आजदेखि लमही बजार क्षेत्रमा बन्द तथा पुरिएका नालीहरूको मेसिन (बकेट) मार्फत सरसफाइ सुरु गरेको छ ।

अभियानको औपचारिक शुभारम्भ नगर प्रमुख जगराज चौधरीले मेसिन सञ्चालन गरेर गर्नुभएको हो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी, वडा नम्बर ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदी, विपद् व्यवस्थापन तथा प्रशासन प्रमुख गायत्री थापा, वडा नम्बर ५ का वडा सदस्य केशव अधिकारी, सामाजिक व्यक्तित्व लिलाराम खनाल, सरसफाइ कर्मचारी तथा विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

नगरपालिकाले यसअघि टोल विकास संस्थाहरूलाई सक्रिय बनाउँदै सरसफाइ अभियानलाई तीव्रता दिँदै आएको छ । सोही अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले मेसिन प्रयोग गरी बन्द तथा पुरिएका नालीहरूको सफाइ थालिएको नगरपालिकाले जनाएको छ ।
कार्यक्रमको मुख्य उद्देश्य लमही बजारलाई सफा, सुन्दर र व्यवस्थित बनाउनुका साथै बजार क्षेत्रलाई एकताबद्ध रूपमा अघि बढाउनु रहेको छ ।

नगर प्रमुख जगराज चौधरीले लमही बजारलाई सफा र सुन्दर राख्नु सबै नगरवासीको दायित्व भएको उल्लेख गर्दै सरसफाइ अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । “हामीले सफा गर्दै जाने र नगरबासीले फोहर गर्दै जाने हो भने सरसफाइ कार्यक्रम प्रभावकारी हुँदैन,” उहाँले भन्नुभयो, “त्यसैले सबैले मिलेर अभियानलाई सफल बनाउँदै लमही बजारलाई नमुना र सुन्दर नगरका रूपमा विकास गर्नुपर्छ ।”

नगरपालिकाले सरसफाइ अभियानलाई निरन्तरता दिने र आवश्यक परे थप कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्