दाङ – नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले दाङको राजपुर र गढवा गाउँपालिकाका मतदातासँग भेटघाट तथा अन्तरक्रिया गर्नु भएको छ । उहाँले स्थानीय पार्टीका नेता तथा कार्यकर्तासँग भेट गर्दै पार्टीलाई दिएको साथ र समर्थनका लागि सम्पूर्ण मतदातालाई धन्यवाद व्यक्त गर्नु भएको छ ।
भेटघाटका क्रममा उहाँले लोकतन्त्र, विकास र समृद्धिको यात्रामा नेपाली काँग्रेसले खेलेको भूमिकाबारे चर्चा गर्दै आगामी दिनमा पनि पार्टीलाई अझ सशक्त बनाउन सबैले मिलेर काम गर्नुपर्ने बताउनु भयो ।
उहाँले नेपाली कांग्रेस जनताको भावना र चाहनालाई केन्द्रमा राखेर अघि बढ्ने पार्टी भएकाले देशको लोकतान्त्रिक मूल्य मान्यता संरक्षण र जनताको अधिकारका लागि सधैं प्रतिबद्ध रहेको उल्लेखगर्नु भयो । सहमहामन्त्री चौधरीले पार्टीका कार्यकर्ताहरूलाई सम्बोधन गर्दै आगामी दिनमा आउने स्थानीय तहको निर्वाचन तथा प्रदेश निर्वाचनलाई ध्यानमा राख्दै संगठनलाई अझ बलियो बनाउन सक्रिय हुन आग्रह गर्नु भयो । गाउँगाउँमा जनतासँग नजिक भएर काम गर्न, पार्टीका नीति तथा कार्यक्रम जनतामाझ पुर्याउन र विकासका मुद्दामा एकजुट भएर लाग्न कार्यकर्तालाई निर्देशन दिनु भयो ।
आफू निरन्तर पार्टी र देशको हितका लागि काम गरिरहने प्रतिबद्धता दोहोर्याउँदै नेपाली काँग्रेसलाई अझ सुदृढ र प्रभावकारी बनाउने अभियानमा सबै नेताकार्यकर्ता र समर्थकहरूको साथ आवश्यक रहेको उहाँको भनाई छ । जनताको विश्वासलाई कायम राख्दै विकास, सुशासन र लोकतन्त्रको मजबुतीका लागि पार्टीले आगामी दिनमा अझ प्रभावकारी भूमिका खेल्ने उहाँको विश्वास छ ।
भेटघाट कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारण नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले पनि आफ्नो क्षेत्रको विकास, संगठन सुदृढीकरण तथा आगामी निर्वाचनमा पार्टीलाई जिताउन आवश्यक रणनीतिबारे सुझाव र धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्