दाङ – फरक पहिचान भएका यौनिक तथा अल्पसंख्यक समुदायहरू आर्थिक आयआर्जनसँग जोडिन थालेका छन् । समाजमा खुलेर आफ्नो पहिचान दिन अप्ठ्यारो मानिरहेका उनीहरू अहिले बिस्तारै समाजसँग घुलमिल हुन थालेका हुन् । स्थानीय सरकारसँग समन्वय गर्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको फरक पहिचान समाज नेपालले हिजो दश दिने सीपमूलक च्याउ उत्पादन तालिमको समापन गरेको छ । सहभागीहरूका अनुसार तालिम अत्यन्त फलदायी रहेको छ ।
फरक पहिचान समाज नेपालका सदस्य कृष्टिना सेन्चुरीले उक्त तालिमले आर्थिक आयआर्जनका अवसर सिर्जना गर्न सहयोग पुगेको बताउनुभयो । आगामी दिनमा राज्यले यस्ता सीपमूलक तालिमलाई निरन्तरता दिनुपर्ने उहाँको भनाइ छ ।
त्यस्तै तालिममा सहभागी गंगा अधिकारीले च्याउलाई भान्सामा तरकारीका रूपमा खाने गरिए पनि यसको उत्पादन प्रक्रिया थाहा नभएको बताउँदै तालिमले आफूलाई उद्यम र सीपसँग जोड्न मद्दत गरेको बताउनुभयो । तालिम केही अप्ठ्यारो भए पनि जीवन उपयोगी रहेको उहाँको बुझाइ छ ।
अर्का सहभागी भूमी सिंह नेपालीले कडा मेहनतपछि च्याउ उत्पादनको सीप हासिल गर्दा अब आफू पनि आर्थिक आयआर्जनसँग जोडिन सक्ने आशा पलाएको बताउनुभयो । फरक पहिचान भएका व्यक्तिहरूले समाजमा विभिन्न प्रकारका विभेद भोग्नुपरेको उल्लेख गर्दै उहाँले यस्तो समुदायका लागि राज्य गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।
फरक पहिचान भएका व्यक्तिहरूको सवालमा राज्य संवेदनशील नभएको उनीहरूको गुनासो छ । “हामी पनि शिक्षित छौँ, केही गर्न सक्ने क्षमता छ, तर राज्यले किन बुझ्दैन?” उनीहरूको प्रश्न छ । नागरिकता प्राप्त गर्ने क्रममा समस्या हुने, आफूले चाहेको व्यक्तिसँग विवाह गर्न नपाउनेजस्ता समस्या अझै समाधान नभएको उनीहरूले बताएका छन् ।
तालिम समापन कार्यक्रममा बोल्दै लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले फरक पहिचान समाज नेपालले समाजमा रहेको विभेदकारी सोच परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । फरक पहिचान भएका व्यक्तिहरू पनि समाजकै अभिन्न सदस्य भएको उल्लेख गर्दै उहाँले उनीहरूलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सबैले जिम्मेवारी लिनुपर्ने बताउनुभयो ।
“फरक पहिचान भएका मानिस पनि हाम्रै दाजुभाइ दिदीबहिनी हुन् । उनीहरूलाई समाजमा सम्मानपूर्वक बाँच्न पाउने अधिकार छ । सम्मानित भएर बाँच्न सक्ने वातावरण सिर्जना गर्नु हामी सबैको दायित्व र कर्तव्य हो,” प्रमुख चौधरीले भन्नुभयो ।
कार्यक्रममा बोल्दै लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले तालिमले सहभागीहरूको क्षमता अभिवृद्धि गर्दै समाज रूपान्तरणमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । फरक पहिचान भएका व्यक्तिहरूले आफ्नो क्षमता र सीपलाई सकारात्मक रूपमा प्रयोग गर्दै समाजमा उदाहरणीय काम गर्नुपर्ने उहाँको भनाइ थियो ।
डाँगीले ढुसीभित्र पनि खुशी खोज्दै च्याउ उत्पादनजस्तो व्यवसायिक क्षेत्रमा लागेको फरक पहिचान समाज नेपालको प्रयास प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा पनि समाजलाई सही बाटोमा डोर्याउने काम निरन्तर हुने विश्वास व्यक्त गर्नुभयो ।
“नराम्रो देखिने चिजभित्र पनि राम्रो सम्भावना लुकेको हुन्छ,” भन्दै उहाँले च्याउ खेतीलाई व्यवसायिक रूपमा मन, वचन र कर्मले लागेर अघि बढाउन सहभागीहरूलाई आग्रह गर्नुभयो ।
समाजमा अझै पनि फरक दृष्टिले हेर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै डाँगीले त्यस्ता सोचलाई परिवर्तन गर्न सकारात्मक काममार्फत उच्च नैतिकताको पाठ सिकाउनुपर्ने बताउनुभयो। “समाज बनाउने कि बिगार्ने भन्ने कुरा गम्भीर विषय हो, त्यसैले सबैले सकारात्मक काममा लाग्नुपर्छ,” उहाँले भन्नुभयो ।
कार्यक्रममा लमही नगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी समीक्षा पोख्रेलले राज्यले प्रदान गरेको सीपलाई व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो । वडा नम्बर ६ की वडा सदस्य पार्वती राना मगरले सीपलाई व्यवहारमा लागू गरे जीविकोपार्जनमा सहज हुने बताउनुभयो ।
फरक पहिचान समाज नेपालका अध्यक्ष वर्षा ठकुरीको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सदस्य तिला भुसालले स्वागत मन्तव्य राख्नुभएको थियो भने सलिना चौधरीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्