दाङ – लमही नगरपालिकामा स्थानीय तहको कार्य सम्पादन स्वमूल्याङ्कन सम्बन्धी विषयमा छलफल गरिएको छ । नगरप्रमुख जोगराज चौधरी र प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीको उपस्थितिमा नगरपालिकाको कार्यसम्पादनलाई कसरी अझ उत्कृष्ट बनाउन सकिन्छ भन्ने विषयमा सबै शाखा प्रमुख तथा कर्मचारीबीच अभिमुखीकरण गरिएको हो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख चौधरीले नगरपालिकाले तय गरेको लक्ष्य हासिल गर्न सबै कर्मचारीले आ – आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने बताउनुभयो । कर्मचारीले समर्पित भएर सेवा प्रवाह गरेमा नगरपालिकाको कार्यसम्पादनको नतिजा सकारात्मक आउनेमा आफू विश्वस्त रहेको उहाँको भनाइ थियो ।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत डाँगीले विभिन्न शाखाले प्राप्त जिम्मेवारी जनमैत्री र उत्तरदायी ढङ्गले पूरा गर्नुपर्नेमा जोड दिनुभयो । जनताले गुनासो र दुःख नपाउने गरी सेवा प्रवाहलाई थप सरल, प्रभावकारी र पारदर्शी बनाउन कर्मचारीलाई ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।
छलफलमा नगरपालिकाका विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा कार्यसम्पादन सुधारका उपाय, सेवा प्रवाहको प्रभावकारिता र स्वमूल्याङ्कन प्रक्रियालाई व्यवस्थित बनाउने विषयमा फोकल पर्सन तथा लमही नगरपालिका योजना शाखा प्रमुख सुनिता पोख्रेलले सहजीकरण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्