दाङ – लाइन्स क्लब अफ देउखुरी गोरक्षले लमही अस्पताललाई अत्याधुनिक स्वास्थ्य सामाग्री प्रदान गरेको छ । क्लबले थाइराइड तथा मधुमेह जस्ता रोगहरूको परीक्षणका लागि आवश्यक पर्ने ‘फिया मिटर थ्री एनालाइजर’ मेसिन अस्पताललाई हस्तान्तरण गरेको हो ।
उक्त उपकरण उपलब्ध भएसँगै अब लमही अस्पतालमै थाइराइड तथा विभिन्न प्रकारका मधुमेहको परीक्षण सेवा सहज रूपमा सञ्चालन हुने भएको छ । यसअघि यस्ता परीक्षणका लागि बिरामीहरूलाई बाहिरी अस्पताल धाउनुपर्ने बाध्यता थियो ।
लमही अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोगराज चौधरीले उपकरण प्राप्त भएपछि स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा विस्तार हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले यसले बिरामीको समय र खर्च दुबै बचत हुनुका साथै स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने बताउनुभयो । आवश्यक उपकरण सहयोग गरेकोमा क्लबप्रति आभार व्यक्त गर्दै यसबाट स्थानीय नागरिकलाई ठूलो राहत पुग्ने उल्लेख गर्नुभयो ।
त्यसैगरी लाइन्स क्लब अफ देउखुरी गोरक्षका पदाधिकारीहरूले समुदायको स्वास्थ्य सेवा सुधारमा योगदान पुर्याउने उद्देश्यले उक्त सामग्री प्रदान गरिएको जानकारी दिएका छन् । उनीहरूले आगामी दिनमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यस प्रकारको सहयोगले स्थानीय अस्पतालको सेवा क्षमतामा वृद्धि हुनुका साथै ग्रामीण क्षेत्रका नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्