महिला सामुदायिक भवन उद्घाटन, महिला सशक्तीकरणमा टेवा पुग्ने विश्वास

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १८ चैत्र २०८२, बुधबार
2 Min Read
Aa

दाङ – लमही नगरपालिका वडा नं. ७, जनकपुरमा निर्माण गरिएको मिलिजुली महिला सामुदायिक भवनको उद्घाटन गरिएको छ । भवनको उद्घाटन गर्दै लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले महिला सशक्तीकरण र सामुदायिक विकासमा यस्ता संरचनाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

उपप्रमुख योगीले “जनतासँग उपमेयर” कार्यक्रममार्फत समुदायको आवश्यकता अनुसार यस्ता योजनाहरू अघि बढाइएको उल्लेख गर्नुभयो । उहाँले स्थानीय तहको लगानीले दिगो विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै महिलाहरूलाई सामाजिक, आर्थिक तथा सीपमूलक गतिविधिमा सक्रिय बनाउन सामुदायिक भवन उपयोगी हुने धारणा राख्नुभयो ।

उहाँले आगामी दिनमा पनि नागरिकको प्रत्यक्ष सहभागितामा आधारित कार्यक्रमलाई प्राथमिकता दिइने प्रतिबद्धता जनाउँदै स्थानीय स्तरमै आवश्यकता पहिचान गरी विकास निर्माणका कार्यलाई तीव्रता दिइने स्पष्ट पार्नुभयो । उक्त भवन “जनतासँग उपमेयर” कार्यक्रम र वडा नं. ७ को संयुक्त लगानीमा निर्माण गरिएको हो ।

कार्यक्रममा वडा अध्यक्ष मोहन गिरीले ग्रामीण क्षेत्रमा छरिएर रहेका महिलाहरूलाई संगठित गरी सशक्त बनाउन आफूले सक्रिय भूमिका खेल्ने बताउनुभयो । उहाँले महिलाको सहभागिता बिना समग्र विकास सम्भव नहुने उल्लेख गर्दै विभिन्न समूह र संस्थामार्फत उनीहरूलाई एकीकृत गर्न आवश्यक रहेको औंल्याउनुभयो ।

अध्यक्ष गिरीले महिलाहरूका लागि सीपमूलक तालिम, आयआर्जन कार्यक्रम तथा नेतृत्व विकासमा जोड दिनुपर्नेमा विशेष जोड दिनुभयो । साथै स्थानीय तहले ल्याएका योजनामा सबै महिलाको पहुँच सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट पार्दै सहकारी, बचत समूह तथा उद्यमशीलतासँग महिलाहरूलाई जोड्ने पहल गरिने बताउनुभयो ।

उद्घाटन कार्यक्रममा समाजसेवी तारा प्रसाद नेपालीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने वडा सचिव शेरबहादुर चौधरीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्