परम्परागत कला र संस्कृतिको जगेर्नाका लागि पञ्चेबाजा सीपमूलक तालिम

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १९ चैत्र २०८२, बिहीबार
3 Min Read
Aa

दाङ – लमही नगरपालिका ५ स्थित अजम्मरी सामुदायिक वन परिसरभित्र रहेको भ्यु टावरमा बुधबारदेखि सुरु भएको पञ्चेबाजा सीपमूलक तालिमले स्थानीय स्तरमा रोजगारी सिर्जना र सांस्कृतिक संरक्षण दुवै पक्षमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले तालिम उद्घाटन गर्दै परम्परागत कला र संस्कृतिको जगेर्नासँगै सीपमूलक तालिममार्फत आयआर्जनका अवसर विस्तार गर्न सकिनेमा जोड दिनु भएको थियो ।

उक्त तालिमले सहभागीहरूलाई पञ्चेबाजाको व्यावहारिक ज्ञान मात्र नभई यसको व्यवसायिक प्रयोगका सम्भावनाबारे पनि जानकारी दिनेछ । विशेषगरी विवाह, व्रतबन्ध, धार्मिक तथा सांस्कृतिक कार्यक्रममा पञ्चेबाजाको माग बढ्दो रहेकाले तालिमपछि सहभागीहरूले स्थानीय स्तरमै सेवा प्रदान गरी आम्दानी गर्न सक्नेछन् । यसले उनीहरूलाई स्वरोजगार बन्ने बाटो खोल्नेछ भने बेरोजगारी समस्या न्यूनीकरणमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।

तालिमबाट सहभागीहरूले समूहमा काम गर्ने सीप, अनुशासन, समय व्यवस्थापन र ग्राहकसँग समन्वय गर्ने क्षमतासमेत विकास गर्नेछन् । यसले उनीहरूलाई भविष्यमा सांगीतिक समूह गठन गरी संगठित रूपमा काम गर्न सहयोग पुर्‍याउनेछ । साथै महिलाहरूको उल्लेखनीय सहभागिताले उनीहरूको आर्थिक सशक्तीकरणमा थप बल पुग्ने देखिन्छ । घरायसी दायित्वसँगै आयआर्जनमा संलग्न हुन सक्ने अवसरले महिलाहरूको आत्मविश्वास बढाउनुका साथै सामाजिक रूपमा पनि उनीहरूको भूमिका अझ मजबुत बनाउनेछ ।

पञ्चेबाजा जस्तो मौलिक सांस्कृतिक सम्पदाको संरक्षणका दृष्टिले पनि यो तालिम महत्वपूर्ण मानिएको छ । पछिल्लो समय आधुनिक बाजागाजाको प्रभाव बढ्दै जाँदा परम्परागत बाजा ओझेलमा पर्न थालेको अवस्थामा नयाँ पुस्तालाई यसतर्फ आकर्षित गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ । तालिममार्फत युवा पुस्तामा सीप हस्तान्तरण भई सांस्कृतिक निरन्तरता कायम रहने विश्वास व्यक्त गरिएको छ ।

लमही नगरपालिकाले सञ्चालन गर्दै आएको “जनतासँग उपमेयर कार्यक्रम” अन्तर्गत यस्ता सीपमूलक तालिमलाई प्राथमिकता दिँदै आएको छ । यसले समुदायस्तरमै क्षमता अभिवृद्धि गर्दै आर्थिक क्रियाकलापमा नागरिकको सहभागिता बढाउने लक्ष्य राखेको छ । सहभागीहरूले सिकेको सीपलाई व्यवहारमा उतारेर व्यावसायिक रूपमा अघि बढेमा स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

लमही नगरपालिका – ५ मा रहेको दर्शन स्वर्गद्वारी सेवामूलक संस्थाको आयोजनामा र लमही नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको उक्त १० दिने तालिममा २ जना पुरुष र ११ जना महिलाको सहभागिता रहेको छ । प्रशिक्षकका रूपमा लोक बहादुर बुढा मगर र एक बहादुर पुन मगर रहनु भएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्