दाङ – लमही अस्पतालको समग्र व्यवस्थापन सुधार गर्ने उद्देश्यले महत्वपूर्ण निर्णय गरिएको छ । अस्पताल व्यवस्थापन समितिको आज बसेको बैठकले व्यवस्थापन, सुधार तथा विकाससम्बन्धी जिम्मेवारी समिति सदस्य अजय न्यौपानेलाई प्रदान गर्ने निर्णय गरेको हो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोगराज चौधरीका अनुसार अस्पतालको वर्तमान अवस्थालाई सुधार गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्यका साथ यस्तो जिम्मेवारी तोकिएको हो । अब न्यौपानेले अस्पतालको समग्र अवस्था अध्ययन गर्ने, सेवा तथा व्यवस्थापन सुधारका लागि आवश्यक पहल गर्ने, र अस्पताल तहबाट समाधान हुन नसक्ने विषयहरू व्यवस्थापन समितिसमक्ष प्रस्तुत गर्ने जिम्मेवारी पाउनु भएको छ ।
अध्यक्ष चौधरीले भन्नु भयो, “अस्पताल क्षेत्रमा देखिएका समस्या समाधान गर्दै सेवा गुणस्तर अभिवृद्धि गर्न यो निर्णय गरिएको हो । अस्पताल तहबाट गर्न सकिने काम तत्काल अगाडि बढाइनेछ, र दीर्घकालीन समाधानका लागि आवश्यक योजना तयार गरी समितिमा प्रस्तुत गरिनेछ ।”
यस निर्णयसँगै लमही अस्पतालमा सेवा सुधार, व्यवस्थापन सुदृढीकरण तथा बिरामीमैत्री वातावरण निर्माणमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ । स्थानीयवासी तथा सरोकारवालाहरूले पनि यस पहललाई स्वागत गर्दै अस्पतालको समग्र सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
नयाँ जिम्मेवारीसँगै न्यौपानेले प्रभावकारी नेतृत्व र योजनामार्फत अस्पताललाई व्यवस्थित, पारदर्शी र गुणस्तरीय सेवायुक्त संस्थाको रूपमा विकास गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्