सीप सिकेर आत्मनिर्भर बन्दै महिलाहरू, स्वरोजगारतर्फ लमही नगरपालिकाको पहल

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २५ जेष्ठ २०८३, सोमबार
4 Min Read
Aa

दाङ – लमही नगरपालिका ९ तेलियाकी कल्पना डाँगी अहिले उत्साहित हुनुहुन्छ । केही समयअघिसम्म उहाँसँग कुनै व्यावसायिक सीप थिएन। दैनिक घरधन्दा र चुल्हो चौकोमै सीमित रहने उहाँले अहिले भने आफ्नै हातले स्विटर बुन्न सक्ने हुनुभएको छ । लमही नगरपालिकाको गरिबी निवारणका लागि लघु उद्यम विकास शाखा (मेड्पा) अन्तर्गत सञ्चालन गरिएको ४५ दिने हाते होजियारी (स्विटर बुनाइ) तालिम पूरा गरेपछि उहाँले स्वरोजगार बन्ने आत्मविश्वास प्राप्त गर्नुभएको हो । “पहिले कुनै सीप थिएन, अब स्विटर बुन्न सिकेकी छु । यसलाई व्यवसायका रूपमा अगाडि बढाउने योजना बनाएकी छु,” डाँगीले बताउनुभयो ।

कल्पना डाँगी मात्र होइन, तालिममा सहभागी अन्य महिलाहरूले पनि सीप सिकेर आत्मनिर्भर बन्ने अवसर प्राप्त गरेका छन् । घरपरिवारको जिम्मेवारीमै सीमित रहेका महिलाहरू अहिले आफ्नै मेहनत र सीपको भरमा आयआर्जन गर्ने लक्ष्यका साथ अगाडि बढिरहेका छन् । तालिममा सहभागीहरूले सिकेको सीपलाई अझ परिष्कृत गर्न थप तालिमको आवश्यकता रहेको बताउँदै भविष्यमा यही पेसालाई व्यवसायका रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

हाते होजियारी तालिमको समापन कार्यक्रममा बोल्दै लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले सीप नै व्यक्तिको सबैभन्दा ठूलो सम्पत्ति भएको बताउनुभयो । उहाँले सीप कहिल्यै पुरानो नहुने भएकाले सिकेको ज्ञान र दक्षतालाई व्यवहारमा उतारेर आर्थिक गतिविधिसँग जोडिन सहभागीहरूलाई आग्रह गर्नुभयो ।

उपप्रमुख योगीले महिलाहरूलाई आत्मविश्वासी र आत्मनिर्भर बन्न प्रेरित गर्दै भन्नुभयो, “आज सिकेको सीपले भोलि तपाईंहरूको जीवन परिवर्तन गर्न सक्छ । सीप भनेको यस्तो सम्पत्ति हो, जसलाई कसैले खोस्न सक्दैन । त्यसैले तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्दै आफ्नै व्यवसाय सञ्चालन गर्नतर्फ अग्रसर हुनुपर्छ ।”

उहाँले राज्यले बेरोजगार युवायुवती तथा महिलाहरूलाई उत्पादनमूलक क्षेत्रमा केन्द्रित गरेर लगानी गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । “हामीले सीप विकास र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सके बेरोजगारी घटाउन सकिन्छ । आज पनि रोजगारीका लागि हजारौं नेपाली विदेशिन बाध्य छन् । यदि यस्ता सीपमूलक तालिमलाई प्रभावकारी रूपमा विस्तार गर्न सकियो भने धेरै युवायुवती र महिलालाई आफ्नै गाउँठाउँमा स्वरोजगार बनाउन सकिन्छ,” उहाँले बताउनुभयो ।

उपप्रमुख योगीले देशको आर्थिक समृद्धिका लागि सीपयुक्त जनशक्ति निर्माण आवश्यक रहेको उल्लेख गर्दै महिलाहरू आर्थिक रूपमा सबल भए परिवार र समाज दुवै बलियो बन्ने धारणा राख्नुभयो । उहाँले महिलाहरूलाई आत्मनिर्भर बन्न प्रेरित गर्दै नगरपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

लमही नगरपालिकाको गरिबी निवारणका लागि लघु उद्यम विकास शाखा (मेड्पा) की उद्यम विकास सहजकर्ता रिता पुनका अनुसार चालु आर्थिक वर्षमा विभिन्न सीपमूलक तालिम सञ्चालन गरिएको छ । लमही नगरपालिका ६ मा अचार बनाउने, चप्पल बनाउने तथा कपाल काट्ने तालिममा ३५ जनाको सहभागिता रहेको थियो । त्यसैगरी वडा नम्बर ९ को रिहारमा १५ दिने डल कुशन बनाउने तालिममा १५ जना सहभागी भएका थिए भने तेलियामा सञ्चालन गरिएको ४५ दिने हाते होजियारी (स्विटर बुनाइ) तालिममा २० जना महिलाको सक्रिय सहभागिता रहेको उहाँले जानकारी दिनुभयो ।

मेड्पा कार्यक्रम अन्तर्गत सञ्चालन गरिएका यस्ता तालिमहरूले स्थानीय महिलाहरूमा सीप विकाससँगै आत्मविश्वास बढाएको छ । सीप सिकेर आयआर्जनको बाटो खुल्दा महिलाहरू आर्थिक रूपमा सशक्त बन्ने अपेक्षा गरिएको छ । स्थानीय तहले सञ्चालन गरेका यस्ता कार्यक्रमले गरिबी न्यूनीकरण, महिला सशक्तीकरण तथा स्वरोजगार प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ । समापन कार्यक्रमको संचालन लमही नगरपालिकाको गरिबी निवारणका लागि लघु उद्यम विकास शाखा (मेड्पा) की उद्यम विकास सहजकर्ता प्रमिला योगीले गर्नु भएको थियो ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्