संजीवनी टिचिङ हस्पिटल दाङद्वारा गढवामा निःशुल्क स्वास्थ्य शिविर हुने

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २८ जेष्ठ २०८३, बिहीबार
2 Min Read
Aa

दाङ – सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य क्षेत्रमा निरन्तर सेवामूलक कार्य गर्दै आएको संजीवनी टिचिङ हस्पिटल घोराही दाङको प्राविधिक सहयोग तथा गढवा गाउँपालिकाको संयुक्त आयोजनामा यही जेठ ३० गते गढवा गाउँपालिका ३ स्थित श्री आदर्श रात्रि आधारभूत विद्यालयमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

ग्रामीण तथा विपन्न समुदायलाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गर्न लागिएको शिविरको तयारी तीव्र पारिएको छ । शिविर सञ्चालनका लागि गाउँपालिका र अस्पतालबीच आवश्यक समन्वय तथा जिम्मेवारी बाँडफाँडसम्बन्धी छलफल सम्पन्न भइसकेको छ । अस्पतालका व्यवस्थापक तथा सह प्राध्यापक मदनप्रसाद पन्थी र गढवा गाउँपालिकाका अध्यक्ष यामनारायण पौडेलबीच भएको छलफलपछि शिविर सञ्चालनको मिति तय गरिएको हो ।

आयोजकका अनुसार शिविरमार्फत स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिक, आर्थिक रूपमा विपन्न परिवार तथा विशेषज्ञ चिकित्सकीय सेवा लिन नसकेका बिरामीलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ । शिविरमा प्रारम्भिक रोग पहिचान, विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण, उपचार तथा परामर्श सेवा प्रदान गरिनेछ ।

साथै आवश्यक परेका बिरामीलाई थप उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा प्रेषण सेवा समेत उपलब्ध गराइनेछ । शिविरमा सहभागी हुने सेवाग्राहीहरूले ल्याब परीक्षण, भिडियो एक्सरे, स्वास्थ्य परीक्षण तथा आवश्यक औषधि निःशुल्क रूपमा प्राप्त गर्नेछन् । यसका साथै शिविरबाट सिफारिस भई थप उपचारका लागि संजीवनी टिचिङ हस्पिटल पुग्ने बिरामीलाई औषधिबाहेक अस्पतालका अन्य सेवामा २० प्रतिशतसम्म छुट प्रदान गरिने अस्पताल प्रशासनले जनाएको छ ।

शिविरमा जनरल फिजिसियन, नाक–कान–घाँटी (ईएनटी), प्रसूति तथा स्त्रीरोग, बालरोग, हाडजोर्नी तथा नसा रोग, जनरल सर्जरी र रेडियोलोजी लगायतका विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहनेछ । उनीहरूले बिरामीहरूको स्वास्थ्य परीक्षण गरी आवश्यक परामर्श तथा उपचार सेवा प्रदान गर्नेछन् ।

शिविरका संयोजक तथा प्रशासकीय अधिकृत सुशील रिजालका अनुसार स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुगोस् भन्ने उद्देश्यले शिविर आयोजना गरिएको हो । उहाँले गढवा क्षेत्रका नागरिकलाई उपलब्ध अवसरको अधिकतम उपयोग गर्दै स्वास्थ्य परीक्षण गराउन आग्रह गर्नुभएको छ।ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास लिइएको छ ।

शिविरले स्थानीय नागरिकको स्वास्थ्य अवस्था पहिचान गर्न, रोगको समयमै उपचार गर्न तथा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्