लमही नगरपालिकाले ल्यायो ९८ करोड १३ लाख बढीको बजेट

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १० असार २०८३, बुधबार
5 Min Read
Aa

दाङ – लमही नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३ / ०८४ का लागि ९८ करोड १३ लाख ३७ हजार ४ सय ५४ रुपैयाँ बराबरको बजेट सहित वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । १९ औँ नगरसभामा नगर प्रमुख जोगराज चौधरीले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो भने उपप्रमुख लक्ष्मी योगीले बजेट वक्तव्य पेश गर्नुभएको हो ।

‘समृद्ध लमही, सक्षम नागरिक र सुशासित नगर’ भन्ने दीर्घकालीन सोचलाई आत्मसात् गर्दै नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, सामाजिक सुरक्षा, वातावरण संरक्षण तथा भूमिहीन नागरिकको अधिकार सुनिश्चित गर्न केन्द्रित नीति तथा कार्यक्रम ल्याएको छ ।

नगरपालिकाले सार्वजनिक गरेको बजेटअनुसार पूर्वाधार विकास क्षेत्रलाई सबैभन्दा बढी प्राथमिकता दिइएको छ । पूर्वाधार विकास तर्फ ३१ करोड ९० लाख ३३ हजार रुपैयाँ विनियोजन गरिएको छ । यस्तै सार्वजनिक सेवा तथा क्षमता विकासतर्फ १८ करोड ९ लाख ३३ हजार रुपैयाँ, सामाजिक विकासतर्फ १२ करोड २७ लाख ९३ हजार रुपैयाँ, आर्थिक विकासतर्फ ५ करोड ९२ लाख ६७ हजार रुपैयाँ तथा विपद् व्यवस्थापनतर्फ १ करोड १ लाख ६० हजार रुपैयाँ छुट्याइएको छ ।

नगरपालिकाले संघीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, राजस्व बाँडफाँड तथा आन्तरिक स्रोतबाट बजेट व्यवस्थापन गर्ने जनाएको छ । आन्तरिक स्रोतबाट मात्रै ८ करोड ८४ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ ।

शिक्षा क्षेत्रलाई विकासको प्रमुख आधारका रूपमा लिँदै नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विभिन्न कार्यक्रम अघि सारेको छ । विद्यालयहरूमा स्मार्ट कक्षा, डिजिटल बोर्ड तथा कम्प्युटर प्रयोगशाला स्थापना गरिनेछ ।‘हाम्रो विद्यालय–राम्रो विद्यालय, हाम्रो गौरव–सामुदायिक विद्यालय’ अभियान सञ्चालन गरी सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउने र सिकाइ उपलब्धि सुधार गर्ने लक्ष्य राखिएको छ ।

नगरपालिकाले पालिका अनुदान शिक्षक, बालविकास सहजकर्ता, विद्यालय कर्मचारी तथा विद्यालय सहयोगीहरूको तलबमा १० प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ । यस निर्णयबाट सामुदायिक शिक्षामा संलग्न जनशक्तिको मनोबल वृद्धि हुने अपेक्षा गरिएको छ । साथै आर्थिक रूपमा कमजोर, जेहेन्दार तथा प्रतिभाशाली विद्यार्थीहरूलाई एमबीबीएस, इन्जिनियरिङ, कृषि तथा अन्य प्राविधिक विषय अध्ययनका लागि प्रतिस्पर्धात्मक छात्रवृत्ति उपलब्ध गराइने भएको छ ।

स्वास्थ्य क्षेत्रलाई थप प्रभावकारी, पहुँचयोग्य र गुणस्तरीय बनाउन नगरपालिकाले लमही अस्पतालको स्तरोन्नतिका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । अस्पतालमा फिजियोथेरापी सेवा, हाडजोर्नी विशेषज्ञ सेवा लगायतका नयाँ सेवा थप गरिनेछन् । नगरभित्रका सतबरिया र सोनपुर स्वास्थ्य केन्द्रमा प्रयोगशालासहित एमबीबीएस चिकित्सकबाट सेवा उपलब्ध गराउने नीति लिइएको छ ।

मातृ तथा शिशु स्वास्थ्य सुधारका लागि विगतदेखि सञ्चालनमा रहेको‘आमासँग उपमेयर कार्यक्रम’लाई निरन्तरता दिइएको छ । यस कार्यक्रममार्फत गर्भवती महिला, सुत्केरी तथा नवजात शिशुको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिइनेछ । यस्तै सिकलसेल एनिमिया, थालासेमिया तथा मिर्गौला रोगका कारण नियमित डायलाइसिस गराइरहेका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

भूमिहीन तथा सुकुम्बासी नागरिकहरूको भूमि अधिकार सुनिश्चित गर्ने विषयलाई नगरपालिकाले विशेष प्राथमिकतामा राखेको छ ।‘भूमिको अधिकार, सम्मानित जीवनको आधार’ अवधारणाअनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको लगत प्रमाणीकरण, नापजाँच तथा जग्गाधनी प्रमाणपूर्जा वितरण कार्यलाई तीव्रता दिइने भएको छ । यसले लामो समयदेखि भूमि अधिकारबाट वञ्चित नागरिकलाई कानुनी स्वामित्व दिलाउने अपेक्षा गरिएको छ ।

नगरपालिकाले उपयोगविहीन तथा बाँझो जमिनको उत्पादक उपयोगका लागि करार खेती तथा भूमि बैंक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।‘भूमिमा महिलाको अधिकार, समृद्ध परिवारको आधार’अभियान सञ्चालन गरी महिलाको एकल वा संयुक्त जग्गा स्वामित्वलाई प्रोत्साहन गरिने नीति लिइएको छ ।

कृषि क्षेत्रको आधुनिकीकरण तथा व्यवसायीकरणका लागि कृषि विकास शाखामार्फत १ करोड रुपैयाँ विनियोजन गरिएको छ । किसान सूचिकरण कार्यक्रम सञ्चालन गरी किसान परिचयपत्र वितरण गरिनेछ । यसबाट कृषि क्षेत्रमा लक्षित कार्यक्रम तथा अनुदान वितरणलाई व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

पशुपालन क्षेत्रको विकासका लागि लमही पशुरोग अन्वेषण प्रयोगशालालाई आधुनिक प्रविधियुक्त नमुना प्रयोगशालाको रूपमा स्तरोन्नति गरिने भएको छ । पशु स्वास्थ्य सेवा विस्तार तथा रोग नियन्त्रणका कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ ।

पर्यावरण संरक्षणतर्फ नगरपालिकाले लमही–७ कप्तानगञ्जमा सञ्चालन भइरहेको गिद्ध संरक्षण कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । लोपोन्मुख गिद्ध संरक्षणमार्फत जैविक विविधता संरक्षण तथा पर्यावरणीय सन्तुलन कायम गर्न योगदान पुग्ने अपेक्षा गरिएको छ । यस्तै सडक सुरक्षा तथा रेबिज नियन्त्रणका लागि सामुदायिक कुकुरहरूको नियमित बन्ध्याकरण तथा खोप कार्यक्रम सञ्चालन गरिने भएको छ ।

नगरपालिकाले विगतका अधुरा तथा क्रमागत योजनालाई सम्पन्न गर्न २ करोड ३० लाख रुपैयाँ विनियोजन गरेको छ । यस्तै भुक्तानी हुन बाँकी रहेका आयोजनाका लागि ४ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ । प्रत्येक वडाको विकास आवश्यकता सम्बोधन गर्न वडागत रूपमा १ करोड ६० लाख रुपैयाँका दरले बजेट विनियोजन गरिएको छ ।

स्थानीय सरकारप्रति नागरिकको पहुँच बढाउन र जनगुनासोको प्रत्यक्ष सुनुवाइ गर्न‘जनतासँग मेयर’ तथा ‘जनतासँग उपमेयर’ कार्यक्रम सञ्चालन गरिने भएको छ । यी दुवै कार्यक्रमका लागि १–१ करोड रुपैयाँ बजेट व्यवस्था गरिएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्