कांग्रेस अब विचारमा फर्किनुपर्छ व्यक्तिमा होइन

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १७ असार २०८३, बुधबार
5 Min Read
Aa

मैले राजनीति बुझ्न थालेदेखि नै नेपाली कांग्रेस देशको सबैभन्दा ठूलो राजनीतिक शक्ति थियो । त्यो समयमा स्वर्गीय खुमबहादुर खड्काजस्ता प्रभावशाली नेताको पार्टीभित्र उल्लेख्य प्रभाव थियो । केन्द्रदेखि स्थानीय तहसम्म निर्वाचन हुँदा कतिपय मतदान केन्द्रमा नेपाली कांग्रेसका प्रतिनिधिबाहेक अन्य दलका प्रतिनिधि बस्नसमेत कठिन हुने अवस्था थियो । कांग्रेसको संगठन, जनआधार र प्रभाव त्यतिबेला निकै बलियो थियो ।

त्यही समयदेखि मैले सुनेका धेरै कांग्रेस नेताहरू पटकपटक सांसद बने, मन्त्री बने, सत्तामा पुगे । दुःखको कुरा, आज पनि तिनै अनुहारहरू फेरि टिकटका लागि सबै शक्ति र प्रभाव प्रयोग गरिरहेको देखिन्छ । नयाँ पुस्तालाई अवसर दिनुको सट्टा पुरानै नेतृत्व पद र शक्तिमा टिकिरहन चाहन्छ । यसले पार्टीभित्र नयाँ सोच र नयाँ नेतृत्व विकास हुन सकेको छैन ।

राजनीति जनताको सेवा र परिवर्तनका लागि हुनुपर्ने हो तर कतिपय नेताहरू जनताको अपेक्षा पूरा गर्नुभन्दा आफ्ना आसेपासेलाई अवसर दिलाउने, शक्ति र पहुँचको दुरुपयोग गर्ने तथा भ्रष्टाचारका विभिन्न आरोपमा मुछिने कार्यमा बढी केन्द्रित भएको देखिन्छ । कानूनी विवादमा परेका केही चर्चित नेताहरूको अवस्था पनि जनतासामु छर्लङ्ग छ । यति धेरै अनुभव र आलोचनापछि पनि आत्मसमीक्षा र सुधारको संकेत नदेखिनु कार्यकर्ताका लागि सबैभन्दा ठूलो निराशाको विषय बनेको छ ।

पार्टीभित्र पुस्तान्तरणको बहस नयाँ होइन । युवा पुस्ताले लामो समयदेखि नेतृत्व परिवर्तनको आवश्यकता औंल्याउँदै आएको छ । समय परिवर्तनसँगै पार्टीको नेतृत्व पनि परिवर्तन हुनुपर्छ भन्ने आवाज क्रमशः बलियो बन्दै गएको छ । नेतृत्व भनेको कुनै व्यक्तिको स्थायी सम्पत्ति होइन, त्यो समय र जनविश्वासले निर्धारण गर्ने जिम्मेवारी हो ।

पार्टीभित्र मतभेद, गुटबन्दी र व्यक्तिगत स्वार्थले कांग्रेसलाई कमजोर बनाएको यथार्थ कसैले पनि अस्वीकार गर्न सक्दैन । चुनावी परिणामहरूले पनि पटक पटक देखाइसकेका छन कि कांग्रेस विभाजित भएर होइन, एकताबद्ध भएर मात्रै बलियो बन्न सक्छ । तर दुर्भाग्यवश अझै पनि विभिन्न समूह र स्वार्थका आधारमा नेताहरू विभाजित भइरहेका छन । यसले कार्यकर्तामा निराशा र आम नागरिकमा अविश्वास बढाएको छ ।

कार्यकर्ताले आज परिवर्तन चाहेका छन । उनीहरू अवसरको समान वितरण, योग्यताको सम्मान र नयाँ नेतृत्वको उदय हेर्न चाहन्छन । पार्टीलाई जीवनभर एउटै अनुहारले मात्रै नेतृत्व गर्न सक्दैन । अनुभवको सम्मान आवश्यक छ तर अनुभवले नयाँ पुस्तालाई रोक्ने होइन, मार्गदर्शन गर्ने भूमिका निर्वाह गर्नुपर्छ । वरिष्ठ नेताहरूले अब आफ्नो अनुभव युवा पुस्तालाई हस्तान्तरण गर्दै अभिभावकको भूमिका निर्वाह गर्ने बेला आएको छ ।

आज पनि पार्टीका केही जिम्मेवार नेताहरूले कार्यकर्तालाई सम्मानित सहयात्रीभन्दा आदेश पालना गर्ने व्यक्ति ठान्ने प्रवृत्ति देखिन्छ । कुनै कार्यकर्ताको आर्थिक, सामाजिक वा व्यक्तिगत अवस्थाका आधारमा व्यवहार फरक फरक गरिनु लोकतान्त्रिक संस्कृतिको विपरीत हो । कांग्रेसप्रति आशा र विश्वास बोकेर नजिकिन खोज्ने आम नागरिकलाई पनि कहिलेकाहीँ बेवास्ता गरिएको अनुभूति हुन्छ । यस्तो व्यवहारले पार्टीप्रतिको आकर्षण होइन दूरी बढाउँछ ।

राजनीतिक दलको शक्ति भवन, पद वा नेतामा होइन, कार्यकर्ताको विश्वास र जनताको भरोसामा हुन्छ । त्यसैले कार्यकर्ताको सम्मान, नयाँ पुस्ताको सहभागिता र विचारको राजनीति कांग्रेसको प्राथमिकता बन्नुपर्छ । राम्रो काम गर्ने हो भने जनताले साथ दिन्छन्, अन्यथा नेतृत्व परिवर्तन लोकतन्त्रको स्वाभाविक प्रक्रिया हो ।

यही सन्दर्भमा बारम्बार महामानव वीपी कोइरालाको सम्झना आउँछ । वीपीले कांग्रेसलाई सत्ता प्राप्त गर्ने माध्यमका रूपमा होइन, लोकतन्त्र, समाजवाद, राष्ट्रियता र जनसेवाको आदर्श बोकेको राजनीतिक आन्दोलनका रूपमा स्थापित गर्नुभएको थियो । उहाँले विचारलाई व्यक्तिभन्दा माथि राख्नुभयो, लोकतन्त्रलाई शक्तिभन्दा ठूलो ठान्नुभयो र राजनीतिलाई जनताको सेवाको माध्यम मान्नुभयो ।

आज प्रश्न उठ्छ- के हामी वीपीले देखाएको बाटोमा छौं ? पार्टीले टिकट नदिँदा अर्को दलमा जान तयार हुने प्रवृत्तिले कार्यकर्तालाई कस्तो राजनीतिक संस्कार सिकाउँछ ? राजनीति सेवा हो कि स्वार्थ ? राजनीति व्यक्तिगत पद र पहुँचका लागि हो कि देश र जनताको भविष्य निर्माणका लागि ?

यदि कांग्रेसले पुनः जनविश्वास जित्ने हो भने व्यक्तिपूजा, गुटबन्दी र स्वार्थको राजनीतिबाट माथि उठ्नैपर्छ । वीपीको विचार, सिद्धान्त र लोकतान्त्रिक संस्कृतिलाई व्यवहारमा उतार्न सक्यो भने मात्र कांग्रेस फेरि सशक्त बन्न सक्छ । परिवर्तनलाई रोक्ने होइन, स्वीकार गर्ने साहस नै आजको सबैभन्दा ठूलो आवश्यकता हो । कार्यकर्ताले अब त्यही परिवर्तनको प्रतीक्षा गरिरहेका छन ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्