दाङ – लमही नगरपालिकाले “जनतासँग उपमेयर” कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयका बाल विकास केन्द्रमा अध्ययनरत अति विपन्न बालबालिकालाई विद्यालय पोसाक वितरण गरेको छ ।
नगरपालिकाले वडा नं. १ स्थित दिव्य प्राथमिक विद्यालय बसन्तपुरका ११ जना, प्राथमिक विद्यालय, सितलापुरका ९ जना, वडा नं. ५ स्थित मदरसा अहले सुन्नत फैजाने रजा विद्यालयका ११ जना तथा मदरसा नुरुल इस्लाम विद्यालयका २३ जना गरी ५४ जना अति विपन्न बालबालिकालाई विद्यालय पोसाक वितरण गरेको हो ।
पोसाक वितरण गर्दै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नहुने बताउनुभयो । उहाँले नगरपालिकाले वास्तविक आवश्यकता भएका परिवारका बालबालिकालाई प्राथमिकतामा राखेर सहयोग गरिएको उल्लेख गर्दै यस्ता कार्यक्रमले विपन्न परिवारलाई राहत पुग्नुका साथै बालबालिकामा विद्यालयप्रति आत्मीयता र नियमित उपस्थितिमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।
उपप्रमुख योगीले भन्नुभयो, “कुनै पनि बालबालिकाले आर्थिक अभावका कारण विद्यालय आउन लाज मान्नुपर्ने वा पढाइबाट पछि हट्नुपर्ने अवस्था आउनु हुँदैन । नगरपालिकाले सानो सहयोग गरे पनि यसले अभिभावकको आर्थिक भार केही हदसम्म कम हुन्छ र बालबालिकामा थप उत्साहका साथ विद्यालय जाने वातावरण बन्छ । आगामी दिनमा पनि विपन्न, असहाय तथा आवश्यकतामा रहेका बालबालिकालाई लक्षित गरी यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइनेछ ।”
उहाँले शिक्षामा सबै बालबालिकाको समान पहुँच सुनिश्चित गर्नु स्थानीय सरकारको दायित्व रहेको उल्लेख गर्दै गुणस्तरीय शिक्षासँगै आवश्यक शैक्षिक सामग्री र आधारभूत सुविधामा समेत नगरपालिकाले प्राथमिकता दिँदै आएको बताउनुभयो ।
पोसाक वितरण कार्यक्रममा लमही नगरपालिकाका सहायक शिक्षा अधिकृत अम्बिका शर्मा, न्यायिक समितिका कर्मचारी दिनेश चौधरी, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा अभिभावकहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्