जनादेशको सम्मान गर्दै नेपाली कांग्रेस अब आत्मसमीक्षाको बाटोमा फर्किनुपर्छ

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १० श्रावण २०८३, आईतवार
4 Min Read
Aa

लोकतान्त्रिक व्यवस्थाको सबैभन्दा ठूलो शक्ति नै जनताको मत हो । जनताले दिएको मतले सरकार बनाउँछ, जनताले नै सरकार परिवर्तन गर्छ । त्यसैले लोकतन्त्रमा जनादेशभन्दा माथि कुनै शक्ति हुँदैन । जनताले कुनै दलप्रति असन्तुष्टि व्यक्त गर्दै मत घटाउँछन् वा अस्वीकार गर्छन् भने त्यसलाई गम्भीर रूपमा ग्रहण गर्नु सम्बन्धित दलको पहिलो दायित्व हो ।

मेरो विचारमा जनताले पूर्ण रूपमा अस्विकार गरिसकेको अवस्थामा नेपाली कांग्रेसले विभिन्न राजनीतिक समीकरण वा बहानाको आधारमा सत्तामा टिकिरहने प्रयास गर्नु उपयुक्त हुँदैन । सत्ता प्राप्त गर्ने माध्यम होइन जनताको विश्वासको जिम्मेवारी पनि हो । जब त्यो विश्वास कमजोर भएको संकेत जनताले दिएका हुन्छन्, त्यतिबेला आत्मसमीक्षा गर्दै जनतामाझ फर्किनु नै लोकतान्त्रिक संस्कार हो ।

यदि कांग्रेसका मन्त्रीहरू गठबन्धन सरकारमा छन् भने उनीहरूले परिस्थिति मूल्याङ्कन गर्दै आवश्यक राजनीतिक निर्णय लिनु बुद्धिमानी हुन सक्छ । सत्ता बाहिर बसेर संगठन सुदृढ बनाउने, जनताको विश्वास पुनः जित्ने र आगामी दिनका लागि स्पष्ट दृष्टिकोण तयार गर्ने अवसर पनि हुन सक्छ । लोकतन्त्रमा प्रतिपक्षको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । सशक्त प्रतिपक्षले सरकारलाई उत्तरदायी बनाउँछ र लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउँछ ।

आज कांग्रेसभित्र देखिएको सबैभन्दा ठूलो चुनौती विचारभन्दा व्यक्ति केन्द्रित राजनीति हो । नेपाली कांग्रेसका संस्थापक नेता तथा जननायक विश्वेश्वरप्रसाद (वीपी) कोइरालाले लोकतान्त्रिक समाजवाद, नैतिक राजनीति, जनताको सहभागिता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर राजनीति गर्न सिकाउनुभएको थियो । उहाँको राजनीतिक दर्शन सत्ता प्राप्तिका लागि मात्र नभई जनताको सेवा र राष्ट्र निर्माणका लागि थियो ।

तर पछिल्ला वर्षहरूमा कांग्रेसभित्र विचार र सिद्धान्तभन्दा पनि गुटगत स्वार्थ, शक्ति संघर्ष, अवसरवाद र नेतृत्वको सीमित घेराभित्र निर्णय हुने प्रवृत्तिले पार्टीको साखमा प्रश्न उठाएको देखिन्छ । योग्य र इमानदार कार्यकर्ताभन्दा पनि आफन्त, निकटवर्ती वा सीमित समूहलाई प्राथमिकता दिने आरोप बारम्बार लाग्दै आएको छ । यस्ता आरोप सत्य हुन् वा होइनन् भन्ने कुरा सम्बन्धित निकायले मूल्याङ्कन गर्ने विषय हो तर जनतामा यस्तो धारणा बलियो बन्दै जानु आफैंमा चिन्ताको विषय हो ।

जनताको विश्वास गुमाउनु कुनै पनि राजनीतिक दलका लागि सबैभन्दा ठूलो क्षति हो । जनताले कुनै दललाई पराजित गर्दा त्यो केवल सिट घटेको घटना मात्र हुँदैन त्यो दलको कार्यशैलीप्रतिको सन्देश पनि हुन्छ । त्यसैले जनताले दिएको सन्देशलाई हारका रूपमा होइन सुधारको अवसरका रूपमा लिन सक्नुपर्छ ।

कांग्रेसले यदि साँच्चै पुनर्जीवित हुन चाहन्छ भने सर्वप्रथम आत्मसमीक्षा गर्नुपर्छ । पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउनुपर्छ। नेतृत्व चयनमा पारदर्शिता, योग्यतालाई प्राथमिकता, युवालाई अवसर, इमानदार कार्यकर्ताको सम्मान र जनताको अपेक्षाअनुसार नीति निर्माण गर्न सके मात्र पार्टीप्रति हराउँदै गएको विश्वास पुनः फर्काउन सकिन्छ ।

वीपी कोइरालाले राजनीति भनेको नैतिकता र जनविश्वासमाथि टिक्नुपर्छ भन्नुभएको थियो । यदि आज कांग्रेसले उहाँकै आदर्शलाई व्यवहारमा उतार्न सकेको भए सायद यस्तो अवस्था आउने थिएन भन्ने धेरै कार्यकर्ता र शुभेच्छुकको भावना पनि सुनिन्छ । त्यसैले अब आवश्यक कुरा एकअर्कालाई दोष दिने होइन पार्टीलाई मूल विचार र सिद्धान्ततर्फ फर्काउने हो ।

कांग्रेसले सत्ता प्राप्तिलाई अन्तिम लक्ष्य नठानी जनताको सेवालाई प्राथमिकता दिनुपर्छ । सत्ता आउँछ र जान्छ तर जनविश्वास एकपटक गुमेपछि पुनः प्राप्त गर्न निकै कठिन हुन्छ । त्यसैले आजको आवश्यकता सत्ता जोगाउने रणनीति भन्दा जनविश्वास पुनः जित्ने अभियान हो ।

यदि कांग्रेसले समयमै आत्मसमीक्षा गरी आफ्ना कमजोरी सच्याउन सक्यो भने इतिहासले फेरि अवसर दिन सक्छ । तर जनादेशलाई बेवास्ता गर्दै सत्ता समीकरणको भरमा अगाडी बढ्ने सोचले पार्टीलाई अझ कमजोर बनाउन सक्छ । लोकतन्त्रको सुन्दरता नै जनताको निर्णयलाई सम्मान गर्नु हो ।

अन्ततः, कुनै पनि राजनीतिक दलको वास्तविक शक्ति सत्ता होइन, जनता हुन । जनताको विश्वास, जनताको साथ र जनताको आशा नै पार्टीको सबैभन्दा ठूलो सम्पत्ति हो । त्यसैले नेपाली कांग्रेसले जनताले दिएको सन्देशलाई गम्भीरतापूर्वक आत्मसात् गर्दै वीपी कोइरालाको लोकतान्त्रिक मूल्य, सिद्धान्त र आदर्शमा आधारित नयाँ यात्राको सुरुवात गर्न सके मात्र पुरानो गौरव पुनः प्राप्त गर्न सम्भव हुनेछ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्