दाङ – राज्यले जेष्ठ नागरिक, एकल महिला, दलित समुदायका ६० वर्ष वा सोभन्दा माथिका नागरिकलगायत लक्षित वर्गको सम्मानजनक जीवनयापनका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आए पनि जेष्ठ नागरिकले भने उक्त भत्ता प्राप्त गर्न निकै सास्ती खेप्नुपरेको गुनासो गरेका छन ।
लमही नगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को विवरणअनुसार नगरपालिकाभित्र करिब ४ हजार ५ सय ८३ जना लाभग्राहीले सामाजिक सुरक्षा भत्ता लिएका छन । लाभग्राहीमध्ये अधिकांश जेष्ठ नागरिक रहेका छन् भने एकल महिला, दलित समुदायका ६० वर्षमाथिका नागरिक तथा अन्य तोकिएका वर्गले पनि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन ।
यद्यपि भत्ता वितरण प्रक्रिया भने अझै पनि जेष्ठ नागरिकमैत्री बन्न नसकेको उनीहरुको गुनासो छ । विशेषगरी लमही नगरपालिकाका ग्रामीण बस्तीमा बसोबास गर्ने वृद्धवृद्धाले भत्ता बुझ्नका लागि लमही बजारसम्म पुग्नुपर्ने बाध्यता रहेको छ । उमेर ढल्कँदै गएपछि हिँडडुल गर्न कठिन हुने, सार्वजनिक यातायातको सहज पहुँच नहुने तथा स्वास्थ्य समस्यासमेत रहेको जेष्ठ नागरिकलाई बैंकसम्म पुग्नु नै चुनौतीपूर्ण हुने गरेको उनीहरूको भनाइ छ ।
भत्ता वितरण हुने दिन बिहानैदेखि बैंक परिसरमा लाभग्राहीको भीड लाग्ने गर्दछ । पालो पर्खिने क्रममा वृद्धवृद्धा घण्टौंसम्म लाइनमा बस्न बाध्य हुने गरेका छन । टन्टलापुर घाम, वर्षा तथा अन्य प्रतिकूल मौसममा समेत पालो कुर्नुपर्ने अवस्थाले जेष्ठ नागरिकलाई थप कष्ट हुने गर्छ ।
कतिपय जेष्ठ नागरिकलाई छोराछोरी वा आफन्तको सहारामा बैंकसम्म आउनुपर्ने अवस्था छ भने टाढाका बस्तीबाट आउँदा यातायात खर्चसमेत व्यहोर्नुपर्ने भएकाले राज्यले दिएको भत्ताको केही हिस्सा बाटो खर्चमै सकिने गरेको गुनासो छ । कमजोर स्वास्थ्य अवस्था भएका धेरै वृद्धवृद्धा दिनभर बैंकको लाइनमा बस्दा थप स्वास्थ्य जोखिमसमेत बढ्ने जेष्ठ नागरिकहरुको को भनाइ छ ।
जेष्ठ नागरिकहरूले राज्यले सम्मान र सुरक्षाको भावना प्रदान गर्ने उद्देश्यले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नै यति धेरै दुःख खेप्नुपर्दा भत्ता नभई सजाय पाएजस्तो अनुभूति हुने प्रतिक्रिया दिएका छन । उनीहरूका अनुसार सामाजिक सुरक्षा भत्ताको उद्देश्य सेवा सहज बनाउनु हो तर वितरण प्रणाली भने अझै सेवाग्राहीमैत्री बन्न सकेको छैन ।
लाभग्राहीहरूले सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै वितरण गर्ने, घुम्ती शिविर सञ्चालन गर्ने वा अशक्त तथा अति वृद्ध नागरिकका लागि घरदैलोमै पुगेर सेवा दिने व्यवस्था गर्न स्थानीय सरकारसँग माग गरेका छन । यसो गर्न सके टाढाका बस्तीका वृद्धवृद्धालाई ठूलो राहत पुग्ने उनीहरूको विश्वास छ ।
सामाजिक सुरक्षा भत्ता वितरणलाई थप प्रभावकारी, सहज र सम्मानजनक बनाउन स्थानीय तह, बैंक तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय गरी जेष्ठ नागरिकमैत्री सेवा प्रवाहको व्यवस्था गर्नुपर्ने आवश्यकता छ । विशेष गरी अशक्त, असहाय र ८० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई घरमै पुगेर सेवा दिने वा वडा तहबाटै भत्ता वितरण गर्ने प्रणाली लागू गर्न सके सामाजिक सुरक्षा कार्यक्रमको वास्तविक उद्देश्य प्रभावकारी रूपमा पूरा हुने छ ।
लमही नगरपालिकाले एक आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता वितरणका लागि करिब १८ करोड रुपैयाँ खर्च गर्ने गरेको छ । प्रत्येक तीन महिनामा पहिलो किस्तास्वरूप झण्डै साढे ४ करोड रुपैयाँभन्दा बढी निकासा हुने गरेको छ । नगरपालिकाले लाभग्राहीहरूको बैंक खातामा हरेक तीन–तीन महिनामा सामाजिक सुरक्षा भत्ता जम्मा गर्दै आएको छ भने वर्षमा चार किस्तामा भत्ता वितरण गर्ने व्यवस्था रहेको जनाएको छ ।
लमही नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका प्रमुख कमल शर्माका अनुसार आर्थिक वर्ष २०८२/८३ मा नगरपालिकाभित्र ४ हजार ५ सय ८३ जना लाभग्राहीले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन । बैंकमा लाग्ने भिडलाई व्यवस्थापन त बैंक आफैले ख्याल गर्नु पर्ने हो, लाभग्राहीलाई बैंकमा लाइन लाग्नु पर्ने अवस्था छैन, उहाँहरुको खातामा पैसा सिधै जान्छ, पैसा उहाँहरुकै खातामा रहन्छ, आत्तिएर बैंकमा जाने लाइन बस्ने गर्नु पर्दैन प्रमुख शर्माले भन्नु भयो ।
लाभग्राहीमध्ये ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक २ हजार ५ सय २ जना, ६० वर्षभन्दा माथिका दलित ज्येष्ठ नागरिक १ सय ३९ जना, ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक एकल महिला ४ सय १४ जना, विधवा महिला ९ सय ४८ जना, पूर्ण अपाङ्गता भएका ९७ जना, अति अशक्त अपाङ्गता भएका ३ सय ५ जना, ५ वर्षमुनिका दलित बालबालिकालाई बालपोषण भत्ता पाउने १ सय ६९ जना तथा लोपोन्मुख जातिका ९ जना रहेका छन ।
नगरपालिकाले वडा अनुसार फरक फरक बैंकमार्फत भत्ता वितरण गर्दै आएको छ । वडा नं. १ र २ का लाभग्राहीहरूको खाता सिद्धार्थ बैंक, वडा नं. ३ का लक्ष्मी सनराइज बैंक, वडा नं. ४ र ५ का कामना सेवा विकास बैंक, वडा नं. ६ का प्राइम कमर्सियल बैंक, वडा नं. ७ का सांग्रीला विकास बैंक तथा वडा नं. ८ र ९ का साइन रेसुङ्गा विकास बैंकमा खोलिएको छ । तर भत्ता बैंक खातामार्फत वितरण हुने व्यवस्था हुँदा धेरै ज्येष्ठ नागरिक र अशक्त लाभग्राहीले सास्ती खेप्नुपरेको गुनासो गरेका छन ।
लमही नगरपालिका १ सुनडबरी निवासी ७४ वर्षीय जीवा थापा दम रोगबाट पीडित हुनुहुन्छ । स्वास्थ्य अवस्था कमजोर हुँदाहुँदै पनि सामाजिक सुरक्षा भत्ता बुझ्न बैंकसम्म लमही बजार आउनुपर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ । “वडा तहबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिदिए हामीजस्ता वृद्धवृद्धालाई धेरै सहज हुने थियो,” उहाँको भनाइ छ ।
सामाजिक सुरक्षा भत्ताले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला, विधवा तथा विपन्न बालबालिकालाई आर्थिक रूपमा केही राहत दिएको भए पनि बैंकसम्म पुग्ने झन्झट, लामो लाइन र शारीरिक कठिनाइले विशेषगरी वृद्धवृद्धा तथा अशक्त लाभग्राहीलाई अझै समस्या झेल्न बाध्य बनाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्