दाङ – शून्य लगानीमै आधुनिक कृषि उपकरण पाएपछि दाङको लमही नगरपालिका क्षेत्रका किसानहरू निकै उत्साहित भएका छन । वर्षौंदेखि परम्परागत तरिकाले खेती गर्दै आएका किसानहरूले अब आधुनिक कृषि औजारको प्रयोगबाट श्रम, समय र लागत बचत हुने तथा उत्पादनसमेत वृद्धि हुने आशा गरेका छन ।
कसैले धान कुटाउने मेसिन पाएका छन भने कसैले गहुँ पिसाउने मेसिन, कसैले मकै छोराउने मेसिन र कसैले मकै रोप्ने मेसिन प्राप्त गरेका छन । निःशुल्क उपलब्ध गराइएका यी कृषि उपकरणले विशेषगरी मध्यमस्तरका कृषकहरूको दैनिक कृषि कार्यलाई सहज बनाउने छ ।
लमही नगरपालिका ९ रिहारका स्थानीय ज्ञानराज नेपालीले आफूहरूका लागि गहुँ पिसाउने मेसिन निकै उपयोगी भएको बताउनुभयो । उहाँका अनुसार यसअघि गहुँ पिसाउन करिब १५ किलोमिटर टाढासम्म जानुपर्ने बाध्यता थियो । त्यसका लागि समय र यातायात खर्च दुवै लाग्ने गरेको थियो । अब आफ्नै गाउँमा मेसिन उपलब्ध भएपछि त्यो समस्या अन्त्य हुने उहाँको भनाइ छ ।
त्यस्तै लमही नगरपालिका-९ धवारीका दिला बुढाथोकीले मकैको दाना हातैले छुट्याउँदा घण्टौं समय लाग्ने गरेको भए पनि अब मकै छोराउने मेसिनको प्रयोगबाट छोटो समयमा धेरै काम गर्न सकिने उहाँको भनाई छ । आधुनिक उपकरणको प्रयोगले श्रमको अभावलाई समेत केही हदसम्म समाधान गर्ने छ ।
युएन ह्याबिटाट तथा गुड नेभर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (सीएसआरसी) ले भूमि कृषि कार्यक्रम अन्तर्गत किसानहरूलाई कृषि उपकरण वितरण गरेको हो ।
सीएसआरसीले लमही नगरपालिकाका विभिन्न वडामा गठन गरिएका किसान समूहमार्फत कृषि उपकरण वितरण गरेको जनाएको छ । खोलीगाउँ भूमि अधिकार कृषक समूह (लमही–८), बाघखोली भूमि अधिकार कृषक समूह (लमही–८), हरियाली भूमि अधिकार मञ्च कप्तानगञ्ज (लमही–७), धवारी भूमि अधिकार कृषक समूह (लमही–९), हसनापुर भूमि अधिकार कृषक समूह (लमही–७), घोडेबास भूमि अधिकार कृषक समूह (लमही–६) तथा लमही–९ का पैते र लौरीरिहारका कृषकहरूलाई धान कुटाउने मेसिन, गहुँ पिसाउने मेसिन, मकै छोराउने मेसिन र मकै रोप्ने मेसिन वितरण गरिएको सीएसआरसीका जलवायु मैत्री कृषि संयोजक निलम त्रिपाठीले जानकारी दिनुभयो ।
उहाँका अनुसार किसानलाई आधुनिक कृषि प्रविधिसँग जोड्दै उत्पादन लागत घटाउने, उत्पादन वृद्धि गर्ने र कृषि पेसालाई थप व्यवसायिक बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । आगामी दिनमा पनि किसानको आवश्यकता अनुसार यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उहाँले बताउनुभयो ।
कार्यक्रममा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले कृषि क्षेत्रको विकास बिना समृद्धि सम्भव नभएको बताउँदै आधुनिक कृषि प्रविधिको प्रयोग अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “कृषक हाम्रो अर्थतन्त्रको मेरुदण्ड हुनुहुन्छ । किसानले उत्पादन बढाए मात्रै गाउँ समृद्ध बन्छ । त्यसैले प्राप्त भएका कृषि उपकरणलाई व्यक्तिगतभन्दा पनि सामूहिक सम्पत्तिका रूपमा संरक्षण गर्नुहोस् । यसको सही सदुपयोग गर्नुभयो भने श्रम, समय र उत्पादन लागत घट्ने मात्र होइन, उत्पादन र आम्दानी दुवै बढ्नेछ । अहिले युवाहरू रोजगारीका लागि विदेश जान बाध्य भइरहेका छन । तर आधुनिक प्रविधिसहित व्यावसायिक कृषि गर्न सकियो भने आफ्नै गाउँमा राम्रो आम्दानी गर्न सकिन्छ ।
स्थानीय सरकारले पनि कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै किसानमैत्री कार्यक्रम सञ्चालन गरिरहेको छ । कृषकहरूले नयाँ प्रविधि अपनाएर कृषि उत्पादनलाई व्यवसायिक बनाउनुपर्ने आजको आवश्यकता हो ।” उहाँले वितरण गरिएका उपकरणको नियमित मर्मत सम्भार गर्दै सबै किसानले समान रूपमा प्रयोग गर्नुपर्नेमा समेत जोड दिनुभयो ।
कार्यक्रममा सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (सीएसआरसी) का कार्यक्रम संयोजक रेवन्त चौधरी, किसान समूहका प्रतिनिधि, तथा कृषकहरूको सहभागिता रहेको थियो ।
कृषकहरूले आधुनिक कृषि उपकरण प्राप्त भएपछि खेतीपाती सहज हुने, उत्पादन लागत घट्ने र कृषि पेसाप्रति थप उत्साह बढेको बताएका छन । यस्ता उपकरणको पहुँच बढ्दै गएमा कृषि उत्पादनमा वृद्धि हुनुका साथै ग्रामीण अर्थतन्त्रलाई समेत सकारात्मक टेवा पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्