दाङ – लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले स्वच्छ, सुरक्षित र दीर्घकालीन खानेपानीको सुनिश्चितताका लागि मुहान क्षेत्र संरक्षण अभियानअन्तर्गत सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरेको छ । संस्थाले हरेक वर्ष सञ्चालन गर्दै आएको वृक्षारोपण अभियानलाई यस वर्ष पनि निरन्तरता दिँदै लमही नगरपालिका ४ स्थित पारिजात महिला सामुदायिक वन क्षेत्रमा विभिन्न प्रजातिका एक हजार बिरुवा रोपण गरेको हो ।
संस्थाका अध्यक्ष सनम कुमार पौडेलका अनुसार जलस्रोत संरक्षण, भू–क्षय नियन्त्रण, वातावरणीय सन्तुलन कायम गर्नुका साथै भावी पुस्ताका लागि सुरक्षित खानेपानीको स्रोत संरक्षण गर्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको हो । उहाँले पानीको मुहान जोगाउन वन संरक्षण अपरिहार्य भएकाले संस्थाले खानेपानी वितरणसँगै वातावरण संरक्षणलाई पनि प्राथमिकतामा राख्दै आएको बताउनुभयो ।
अध्यक्ष पौडेलले भन्नुभयो, “स्वच्छ खानेपानीको आधार नै सुरक्षित मुहान हो। मुहान सुरक्षित राख्न वनको संरक्षण र वृक्षारोपण अत्यन्त आवश्यक छ । त्यसैले संस्थाले प्रत्येक वर्ष वर्षायाममा वृक्षारोपण गर्दै आएको छ र आगामी दिनमा पनि यो अभियानलाई अझ प्रभावकारी बनाउनेछौँ ।”
वृक्षारोपण कार्यक्रमका क्रममा रोपिएका बिरुवाले भविष्यमा हरियाली विस्तार गर्न, जमिनको उर्वराशक्ति जोगाउन तथा प्राकृतिक स्रोतको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ । वन क्षेत्रमा वृक्षारोपण हुँदा वर्षाको पानी जमिनभित्र सोसिने क्षमता बढ्ने, भू–क्षय तथा पहिरोको जोखिम कम हुने र पानीका मुहान सुक्ने समस्यामा समेत कमी आउने वातावरणविद्हरूको भनाइ छ ।
वन क्षेत्रको संरक्षणले जैविक विविधता कायम राख्न महत्वपूर्ण भूमिका खेल्छ । बिरुवाहरू हुर्किएपछि विभिन्न प्रजातिका चराचुरुङ्गी, वन्यजन्तु तथा अन्य जीवजन्तुका लागि सुरक्षित बासस्थान सिर्जना हुने, प्राकृतिक पारिस्थितिक प्रणाली सन्तुलित बन्ने र वातावरणीय चक्रलाई मजबुत बनाउने अपेक्षा गरिएको छ ।
वृक्षारोपणले वातावरणमा कार्बनडाइअक्साइडको मात्रा घटाई अक्सिजनको मात्रा वृद्धि गर्ने भएकाले जलवायु परिवर्तनको असर न्यूनीकरणमा पनि सहयोग पुग्ने विश्वास गरिएको छ । बढ्दो तापक्रम, अनियमित वर्षा र पानीका मुहान सुक्दै जाने चुनौतीका बीच यस्ता अभियानले वातावरण संरक्षणसँगै मानव जीवनलाई समेत प्रत्यक्ष लाभ पुर्याउने विज्ञहरूको धारणा छ ।
खानेपानीका मुहान वरपर पर्याप्त वनस्पति हुँदा पानीको गुणस्तर सुधार हुने, मुहानमा पानीको बहाव लामो समयसम्म कायम रहने र पानीमा माटो तथा फोहोर मिसिने सम्भावना कम हुने भएकाले उपभोक्ताले स्वच्छ र सुरक्षित खानेपानी प्राप्त गर्न सहज हुने विश्वास गरिएको छ ।
सामाजिक उत्तरदायित्वलाई समेत आत्मसात् गर्दै आएको लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले उपभोक्तालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने मात्र नभई वातावरण संरक्षण, सरसफाइ तथा जनचेतनामूलक कार्यक्रमहरूलाई पनि निरन्तरता दिँदै आएको जनाएको छ ।
संस्थाले आगामी वर्षहरूमा पनि वृक्षारोपण अभियानलाई विस्तार गर्दै मुहान क्षेत्र संरक्षण, वन संवर्द्धन तथा वातावरण संरक्षणका कार्यक्रमलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्ने लक्ष्य लिएको जनाएको छ । स्थानीय समुदाय, सामुदायिक वन उपभोक्ता समूह तथा सरोकारवाला निकायहरूको सक्रिय सहभागिताले यस्ता अभियान थप सफल हुने विश्वास संस्थाले व्यक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस्