दाङ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय भएको मिति कुनै पनि हालतमा तलमाथि गर्न नसकिने बताएका छन ।
आइतबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले अगामी असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने गरी तय गरिएको कार्यतालिका नै अन्तिम भएको बताएका हुन ।
उनले पार्टी विधान र कानुनअनुसार पार्टीले तय गरेको कार्यतालिका परिवर्तन गर्ने अधिकार कसैलाई नभएको बताए । उनले भने, ‘पार्टीको महाधिवेशनको लागि जुन मिति तय गरिएको छ, त्यो तलमाथि गर्ने सुविधा हामी कसैलाई पनि छैन । किनभने हाम्रो विधानको व्यवस्थाले त्यो कुरा तोकिदिएको छ । नेपालको कानुनको व्यवस्था पनि त्यही छ । त्यसकारण असोज १६–१९ गतेसम्म जुन कार्यतालिका तोकिएको छ, त्यही कुरामा हुन्छ । त्यो हाम्रो अन्तिम विषय नै हो ।’
उनले पार्टीको वैधानिकता र विशेष महाधिवेशनका सम्बन्धमा सर्वोच्च अदालतले दिएको पुनरवलोकन आदेशलाई सामान्य रुपमा लिएको भन्दै पुनः न्यायालयको सामना गर्ने बताए ।
उनले पार्टीको विधानसम्मत भएको विशेष महाधिवेशनलाई यसअघि नै निर्वाचन आयोग र सर्वोच्च अदालतले वैधानिकता दिइसकेको भन्दै डराउनुपर्ने अवस्था नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्