भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी व्यवस्थापनबारे अन्तरक्रिया

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २६ श्रावण २०८३, मंगलवार
3 Min Read
Aa

दाङ – भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । देउखुरीका चार पालिकाका उपप्रमुख, भूमि शाखा प्रमुख तथा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुसंग अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा बोल्दै लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले स्थानीय तहले जग्गा नापजाँच र आवश्यक तयारीको काम धेरै हदसम्म पूरा गरिसकेको बताउँदै अब लालपुर्जा वितरणमा संघीय सरकारले ढिलाइ गर्न नहुने धारणा राख्नु भयो । उहाँले भूमिहीन सुकुम्बासीको समस्या दीर्घकालीन भएकाले तत्काल समाधान आवश्यक रहेको उहाँको भनाई छ ।

राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीले स्थानीय तहले आफ्नो जिम्मेवारीअनुसार काम सम्पन्न गरिसकेको भन्दै अब प्रक्रिया अगाडि बढाउन राज्यले स्पष्ट निर्णय लिनुपर्ने बताउदै भूमिहीनलाई वर्षौंदेखि आश्वासनमा मात्र राख्न नहुनेमा जोड दिनु भयो ।

राजपुर गाउँपालिकाकी उपाध्यक्ष धनपतीदेवी यादवले नापजाँचको काममा स्थानीय तहले उल्लेखनीय प्रगति गरेको बताउँदै अब लालपुर्जा वितरणको चरणमा ढिलाइ हुनु दुःखद भएको टिप्पणी गर्दै भूमिहीनको अधिकार सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने बताउनु भयो ।

गढवा गाउँपालिकाकी उपाध्यक्ष सारदा कुमारी चौधरीले जग्गा नापजाँचका क्रममा केही प्राविधिक र कानूनी समस्या देखिए पनि स्थानीय तहले धेरै काम सम्पन्न गरिसकेको बताउदै अब राज्यले जिम्मेवारी लिएर प्रक्रिया छिटो टुंग्याउनुपर्ने धारणा राख्नु भयो ।

भूमि समस्या समाधान समितिका विज्ञ सदस्य पदमनिधि सोतीले पालिकाहरूले जग्गा नापजाँचको काम समयमै सम्पन्न गरी सम्बन्धित निकायलाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले सबै पक्ष मिलेर भूमिहीन सुकुम्बासीका समस्या समाधान गर्नुपर्ने उल्लेख गर्दै राज्यले आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको जबाफ दिनु भयो ।

राजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले पालिकाले नापजाँच र लगत संकलनको काम धेरै हदसम्म सम्पन्न गरिसकेको जानकारी दिँदै अब आयोगलाई जिम्मा दिने तयारी भइरहेको बताउनु भयो ।

गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलले प्राविधिक तथा कानुनी चुनौतीका बाबजुद काम अघि बढिरहेको बताउदै बाँकी काम छिटो सम्पन्न गर्ने प्रतिबद्धता जनाउनु भयो ।

लमही नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत महेश थापा ठेडीले स्थानीय तहले आवश्यक प्रक्रिया पूरा गरिसकेको भन्दै अब जिल्ला तहबाट निर्णय आवश्यक रहेको बताउनु भयो । सो अवसरमा आत्मनिर्भर सेवा केन्द्रका कार्यक्रम संयोजक रेमन्त चौधरीले अझै पनि वास्तविक भूमिहीनहरूले विभिन्न समस्या भोगिरहेको बताए ।

कार्यक्रममा लमही नगरपालिकाका भूमि शाखा प्रमुख प्रकाश भण्डारी, गढवा गाउँपालिकाका राजकुमार यादव, राप्ती गाउँपालिकाका हेमराज शर्मा तथा राजपुर गाउँपालिकाका ओमनारायण यादवले आ–आफ्नो पालिकामा जग्गा नापजाँचका क्रममा भोग्नुपरेका चुनौती, हालसम्मको प्रगति र आगामी योजनाबारे प्रस्तुति राख्नु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य लमही नगरपालिका भूमि शाखाका अमिन आशा कँवरले राख्नु भएको थियो भने कार्यक्रमको संचालक आत्मनिर्भर सेवा केन्द्रका गोपाल विकले गर्नु भएको थियो ।

कार्यक्रममा सहभागी वक्ताहरूले स्थानीय तहले गर्नुपर्ने कामहरू सम्पन्न गरिसकेको उल्लेख गर्दै अब जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरणको जिम्मेवारी राज्यको भएको बताएका थिए । उनीहरूले विभिन्न कारण देखाउँदै प्रक्रिया लम्ब्याएर भूमिहीन सुकुम्बासीलाई थप अन्योलमा नराख्न सरकारसँग आग्रह गरे ।

कार्यक्रममा भूमिहीन अधिकार मञ्चका प्रतिनिधि तथा देउखुरीका चारवटै स्थानीय तहका भूमि शाखामा कार्यरत प्राविधिक कर्मचारीहरूको सहभागिता रहेको थियो ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्