दाङ – कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरीले पूर्वसभापति देउवा नेपाल फर्किएपछि पार्टीसँगको दूरी बढाउनेभन्दा संस्थागत सम्बन्ध बलियो बनाउने अपेक्षा आफूहरूको रहेको बताए । ‘बुढेसकालमा परिवारसँगै आएर देशमा बस्ने परिस्थिति बनिदिएको भए अत्यन्त सुखद हुने थियो,’ उनले भने, ‘हाम्रो त्यो अपेक्षा थियो ।’
देउवा नेपाल आउँदा पार्टी कार्यालय आउने जानकारी गराएको भए सभापति गगन थापासहित आफूहरू विमानस्थलमै स्वागत गर्न जाने उनको भनाइ थियो । ‘यसरी गरेको भए पार्टीलाई थप मजबुत गर्ने परिस्थिति निर्माण हुन्थ्यो,’ चौधरीले भने ।
पूर्वसभापति देउवा पार्टी कार्यालय नआएर चुनदेवीस्थित सम्पर्क कार्यालयमा गएको विषयमा सहमहामन्त्री चौधरीले असन्तुष्टि जनाए । चुनदेवी केही नेताहरूको सम्पर्क कार्यालय भएको उल्लेख गर्दै उनले देउवालाई आवश्यक परेको भए कांग्रेसले सानेपामै पूर्वप्रधानमन्त्री तथा पूर्वसभापतिको हैसियतमा सम्मानजनक स्थान उपलब्ध गराउन सक्ने बताए ।
‘उहाँलाई साँच्चिकै कोठा चाहिएको भए हामी यस्तो भव्य कोठा सजाएर पूर्वप्रधानमन्त्री, पूर्वसभापति भनेर कोठा दिन्थ्यौं, उनले भने, ‘त्यो गरेको भए उहाँको सम्मान पनि हुन्थ्यो ।’
पछिल्ला गतिविधिले पूर्वसभापति देउवा एउटा समूहको मात्रै नेता बन्न खोजेको सन्देश गएको सहमहामन्त्री चौधरीको निष्कर्ष छ । ‘उहाँ एउटा गुटको मात्रै नेता बन्ने परिदृश्य देखियो,’ उनले भने, ‘यो नेपालको राजनीतिक इतिहासमा फरक इतिहास बन्ने हो कि भन्ने चिन्ता लागेको छ ।’

प्रतिक्रिया दिनुहोस्