बगार बाबा धार्मिक विकास क्षेत्रको नयाँ कार्यसमिति चयन, अध्यक्षमा पछाई

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ७ भाद्र २०८३, आईतवार
2 Min Read
Aa

दाङ– लमही नगरपालिका-९ स्थित बगार बाबा धार्मिक विकास क्षेत्रको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनबाट संस्थाको अध्यक्षमा मेघराज पछाई निर्वाचित हुनुभएको छ ।

निर्वाचन समितिका सदस्य यमबहादुर बस्नेतका अनुसार अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा पछाईले ३२० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी रवीन्द्र खत्रीले २३९ मत प्राप्त गर्नुभयो । पछाई ८१ मतान्तरले विजयी हुनुभएको हो ।

त्यस्तै उपाध्यक्ष पदमा सुनिल डिसी र सचिव पदमा सन्तोषकुमार विक निर्वाचित हुनुभएको छ । उपाध्यक्ष पदमा डिसीले ३१२ मत ल्याउँदा उहाँका प्रतिद्वन्द्वी सूर्यलाल यादवले २३९ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी सचिव पदमा विकले ३१८ मत प्राप्त गरी विजयी हुँदा उहाँका प्रतिस्पर्धी ज्ञानराज नेपालीले २३८ मत प्राप्त गर्नुभएको थियो ।

प्यानलगत प्रतिस्पर्धा र अन्य पदाधिकारीहरू
निर्वाचनमा खत्री, यादव र नेपाली सहितको टोली ‘कमल फूल’ चुनाव चिह्न लिएर मैदानमा उत्रिएको थियो भने पछाई, डिसी र विकको टोली ‘मयूरपंक्षी जडित बाँसुरी’ चुनाव चिह्न लिएर प्रतिस्पर्धामा होमिएको थियो । पराजित उम्मेदवार खत्री यसअघि तीन वर्षसम्म धार्मिक समितिको नेतृत्व गरिसक्नुभएका उहाँ आफ्ना पुरानै प्रतिस्पर्धी पछाईसँग पराजित हुनुभएको हो ।

अधिवेशनकै क्रममा सहसचिवमा पहल सिंह पुन, कोषाध्यक्षमा पुष्पा यादव र सदस्यहरूमा मोहन यादव, अम्मर यादव, रमा बस्नेत, चन्द्रकला वली शाह तथा मीना पौडेल यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए । तर अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा सहमति हुन नसकेपछि निर्वाचन गरिएको हो ।

नव निर्वाचित पछाई, डिसी र विक नेपाली कांग्रेस निकट हुनुहुन्छ भने उहाँहरूलाई अन्य राजनीतिक दलहरूको पनि सहयोग रहेको बताइएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्