सडक क्षेत्राधिकारभित्रका रुख कटानमा भ्रष्टाचारको आरोप, ९ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

दाङ समाचार
दाङ समाचार १५ भाद्र २०८३, सोमबार
2 Min Read
Aa

दाङ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय दाङका तत्कालीन कार्यालय प्रमुख राम पुकार जयसवालसहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार प्रचलित कानूनबमोजिम आवश्यक प्रक्रिया पूरा नगरी तथा अनुमति नलिई सडक क्षेत्राधिकारभित्र पर्ने रुखहरू कटान गरी भ्रष्टाचार तथा अनियमितता गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो ।

आयोगले अनुसन्धानका क्रममा संलग्न व्यक्तिहरूबाट भएको कार्यबाट सरकारी सम्पत्तिमा क्षति पुगेको ठहर गर्दै विभिन्न दफा बमोजिम कैद तथा बिगो असुलउपरको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ ।

मुद्दा दायर गरिएकामध्ये सडक डिभिजन कार्यालय दाङका तत्कालीन कार्यालय प्रमुख राम पुकार जायसवाल र डिभिजन वन कार्यालय दाङ देउखुरीका तत्कालीन डिभिजनल वन अधिकृत राजु क्षेत्री विरुद्ध जनही ८१ लाख ३७ हजार ९ सय रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

त्यस्तै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट विरुद्ध ५८ लाख ४५ हजार ८ सय २५ रुपैयाँ, राप्ती गाउँपालिका १ का वडा अध्यक्ष गेमे खड्का विरुद्ध ३ लाख ७१ हजार रुपैयाँ र वडा नं. ४ का वडा अध्यक्ष वीरबहादुर चौधरी विरुद्ध १ लाख ४१ हजार २ सय २६ रुपैयाँ बिगो मागदाबी गरिएको आयोगले जनाएको छ ।

यसैगरी राप्ती गाउँपालिका ४ निवासी अभिमान चौधरी विरुद्ध ७३ हजार ६ सय ४६ रुपैयाँ, सोही वडाका नन्दु गिरी विरुद्ध ३० हजार ९ सय ७० रुपैयाँ, राप्ती गाउँपालिका २ निवासी झविन्द्र प्रसाद भण्डारी विरुद्ध १ लाख ४१ हजार २ सय २६ रुपैयाँ तथा लमही नगरपालिका २ निवासी केसरबहादुर चौधरी विरुद्ध ३६ हजार ६ सय १० रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

आयोगले उनीहरूविरुद्ध बिगो रकम असुलउपरका साथै प्रचलित कानूनअनुसार कैद तथा अन्य सजायको मागसमेत गरेको जनाएको छ ।अनुसन्धानका क्रममा प्रचलित कानूनले तोकेको कार्यविधि पूरा नगरी सडक क्षेत्राधिकारभित्र रहेका रुखहरू विनाअनुमति तथा अवैध रूपमा कटान गरिएको र त्यसक्रममा भ्रष्टाचार तथा अनियमितता भएको आयोगको निष्कर्ष छ ।

सोही आधारमा भ्रष्टाचार निवारणसम्बन्धी प्रचलित कानूनी व्यवस्था आकर्षित हुने भन्दै संलग्न व्यक्तिहरूविरुद्ध कानूनी कारबाहीका लागि विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्