दाङ – नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ ले भोटेकोशीका बाढी पहिरो प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाली कांग्रेस केन्द्रीय कार्यालय अन्तर्गत रहेको विपद् व्यवस्थापन कोषमा १ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
प्राकृतिक विपत्ति तथा अन्य आकस्मिक संकटका कारण प्रभावित नागरिकहरूको तत्काल राहत र उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम जम्मा गरिएको नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ ले जनाएको छ । क्षेत्रीय समितिको तर्फबाट संकलन तथा व्यवस्थापन गरिएको उक्त सहयोग रकम केन्द्रीयस्तरको विपद् व्यवस्थापन कोषमा पठाइएको हो ।
नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ का क्षेत्रीय प्रवक्ता अजय न्यौपानेका अनुसार विपद्को कठिन घडीमा पीडित नागरिकहरूको साथमा उभिनु सबैको साझा दायित्व भएकाले क्षेत्रीय समितिले सहयोग रकम प्रदान गरेको हो ।
उहाँले विपद्का कारण पीडामा रहेका नागरिकलाई राहत र उद्धारको आवश्यकता परेका बेला राज्य तथा विभिन्न संघसंस्थासँगै राजनीतिक दल र नागरिक समाजले पनि आफ्नो सामाजिक दायित्व निर्वाह गर्नुपर्ने बताउनु भयो । यही जिम्मेवारीबोधका साथ नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ ले विपद् व्यवस्थापनका लागि केन्द्रीय कोषमा सहयोग रकम जम्मा गरेको उहाँको भनाइ छ ।
“विपत्तिको समयमा पीडित नागरिकलाई सहयोग गर्नु मानवीय कर्तव्य हो । नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ सधैं नागरिकको सुख दुःखमा साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछ,” प्रवक्ता न्यौपानेले भन्नु भयो ।
उहाँका अनुसार नेपाली कांग्रेसले विभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक तथा अन्य विपद्का बेला राहत र उद्धारका लागि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । यसपटक पनि प्रभावित नागरिकहरूको राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन क्षेत्रीय समितिको तर्फबाट आर्थिक सहयोग उपलब्ध गराइएको हो ।
विपद् व्यवस्थापन कोषमा जम्मा गरिएको उक्त रकम आवश्यकताअनुसार विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनासम्बन्धी कार्यमा उपयोग हुने अपेक्षा गरिएको छ ।
नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ ले विपद्को घडीमा सबै पक्षलाई मानवीय सेवाको भावनाका साथ सहयोगका लागि एकजुट हुनसमेत आग्रह गरेको छ । क्षेत्रीय समितिले आगामी दिनमा पनि जनताको सुखखमा साथ दिँदै सामाजिक तथा मानवीय सेवाका कार्यमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्