दाङ – हिन्दु धर्मावलम्बीहरूले आज भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन । संसारभर रहेका हिन्दु धर्मावलम्बी तथा भगवान् श्रीकृष्णका भक्तजनहरूले आज भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा यो पर्व मनाउन लागेका हुन ।
धार्मिक मान्यताअनुसार भगवान् श्रीकृष्णको जन्म मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट आजकै दिन भएको थियो । हातमा मुरली, शिरमा मयूरको प्वाँख तथा गोपिनी र जीवजन्तुहरूसँग बाँसुरीको मधुर धुनमा रमाइरहेको स्वरूपमा भगवान् श्रीकृष्णलाई श्रद्धापूर्वक स्मरण गर्ने गरिन्छ ।
कृष्ण जन्माष्टमीलाई विभिन्न स्थानमा सातम आठम, गोकुलाष्टमी, अष्टमी रोहिणी, श्रीकृष्ण जयन्ती र श्रीजयन्ती लगायतका नामले पनि चिनिन्छ । भक्तजनहरूले आज मन्दिरमा पूजा, भजन–कीर्तन तथा विभिन्न धार्मिक कार्यक्रम गरी भगवान् श्रीकृष्णको जन्मोत्सव मनाउँदैछन ।
साथै सुदूरपश्चिमको जीवन्त मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरुआत भएको छ । भाद्र शुक्लपक्ष पञ्चमीदेखि सुरु हुने यो पर्व आज पहिलो दिन घर घरमा बिरुडा राखि मनाइँदै छ। आजको दिनलाई बिरुडा पञ्चमी भन्ने गरिन्छ । आज व्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेँडागुडी) भिजाएर गौराको सुरुवात गरिन्छ ।
भाद्र महिनामा मनाइने यस पर्वलाई विशेषगरी विवाहित महिलाले आफ्नो पति तथा परिवारको सुख, शान्ति र दीर्घायुको कामना गर्दै मनाउने गर्दछन् । गौरा पर्वमा व्रत बस्ने, पूजा–आराधना गर्ने तथा विभिन्न धार्मिक एवं सांस्कृतिक कार्यक्रम आयोजना गर्ने परम्परा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्