सीपले बदलिँदै जीवन, वेत बाँस फर्निचर तालिमपछि स्थानीयमा स्वरोजगारको आशा

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २० भाद्र २०८३, शनिबार
7 Min Read
Aa

दाङ – घरमा फुर्सदिलो समय बिताउँदै मानसिक तनावको सामना गर्नुपर्ने अवस्था अब परिवर्तन हुने विश्वासका साथ वेत बाँस फर्निचर बनाउने सीपमूलक तालिममा सहभागी स्थानीय उत्साहित बनेका छन् । बेरोजगार तथा फुर्सदिला व्यक्तिलाई सीप सिकाएर स्वरोजगारसँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको एक महिने तालिम शनिबार एक कार्यक्रमका बीच सम्पन्न भएको हो ।

घुम्ना सामुदायिक वन उपभोक्ता समूहको आयोजना तथा आरआरएन/डिजिएम नेपालको आर्थिक सहयोगमा सञ्चालन गरिएको उक्त तालिममा महिला तथा पुरुष गरी २० जनाको सहभागिता रहेको थियो । तालिममा सहभागीहरूले वेत र बाँसबाट विभिन्न प्रकारका फर्निचर तथा घरायसी सामग्री निर्माण गर्ने व्यावहारिक सीप सिकेका छन् ।

तालिममा सहभागी निर्मला चौधरीले सीपमूलक तालिमले आफ्नो जीवनमा नयाँ सम्भावनाको ढोका खोलेको बताइन् । घरमै फुर्सदिलो भएर बस्दा समयको सदुपयोग हुन नसक्ने र विभिन्न किसिमका मानसिक तनावसमेत महसुस हुने गरेको उल्लेख गर्दै उनले अब सिकेको सीपलाई व्यावसायिक रूपमा अघि बढाउने योजना रहेको बताइन् ।

उनले भनिन्, “पहिले घरको काम सकेपछि धेरै समय फुर्सदमा बित्थ्यो । फुर्सदमा बस्दा अनेक किसिमका कुरा सोचेर मानसिक तनाव पनि हुने गर्दथ्यो । अहिले यो तालिमबाट वेत र बाँसका सामग्री तथा फर्निचर बनाउने सीप सिकेपछि आत्मविश्वास बढेको छ । अब खाली समयमा बस्नुपर्ने अवस्था रहँदैन, सीपको प्रयोग गरेर उत्पादन गर्न सकिन्छ र त्यसबाट आम्दानी पनि गर्न सकिन्छ ।”

निर्मलाले स्थानीयस्तरमै उत्पादन भएका वेत तथा बाँसका सामग्रीको बजार विस्तार गर्न सके महिलाहरूको आर्थिक सशक्तीकरणमा समेत महत्वपूर्ण योगदान पुग्ने बताइन् । “हामीले सिकेको सीपलाई निरन्तर अभ्यास गर्दै उत्पादनसँग जोड्न सक्यौं भने परिवारको आर्थिक अवस्थामा पनि सहयोग पुग्छ । सीप सिक्नु मात्रै पर्याप्त हुँदैन, उत्पादनका लागि आवश्यक मेसिन, कच्चा पदार्थ र बजारीकरणमा सहयोग आवश्यक हुन्छ,” उनले भनिन् ।

त्यस्तै तालिममा सहभागी बलबहादुर चौधरीले बेरोजगारीका कारण घरमै निष्क्रिय भएर बस्नुपर्ने अवस्थालाई सीपमूलक तालिमले परिवर्तन गर्ने विश्वास व्यक्त गरे । उनले तालिमबाट केवल फर्निचर बनाउने कला मात्र नभई स्वरोजगार बन्ने आधार प्राप्त भएको बताए ।

“फुर्सदमा घरमै बस्दा समय बितेको पत्तो हुँदैनथ्यो । काम नहुँदा मानसिक रूपमा पनि तनाव हुने अवस्था थियो,” उनले भने, “अब हामीसँग एउटा सीप छ । यो सीपलाई व्यवहारमा उतारेर नियमित उत्पादन गर्न सकियो भने आफूलाई व्यस्त राख्न सकिन्छ र आर्थिक आम्दानीको स्रोत पनि बनाउन सकिन्छ ।”

बलबहादुरले तालिमपछि स्थानीयस्तरमा समूह बनाएर उत्पादन गर्ने, आवश्यक सामग्रीको व्यवस्था गर्ने तथा बजारसँग जोडिने योजना रहेको बताए । “हामीले बनाएका सामग्रीको बजार राम्रोसँग व्यवस्थापन गर्न सकियो भने यो तालिम साँच्चिकै जीवन परिवर्तन गर्ने माध्यम बन्न सक्छ । स्थानीय बजारदेखि अन्य ठाउँसम्म बिक्री गर्ने वातावरण निर्माण गर्न आवश्यक छ,” उनले थपे ।

तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले बेरोजगारी न्यूनीकरणका लागि सीपमूलक तालिमलाई उत्पादन र बजारीकरणसँग जोड्नुपर्नेमा जोड दिइन् । उनले तालिम लिएर प्रमाणपत्र मात्र प्राप्त गर्नेभन्दा पनि सिकेको ज्ञान र सीपलाई व्यवहारमा प्रयोग गरी आयआर्जनसँग जोड्नु अहिलेको आवश्यकता रहेको बताइन् ।

उनले स्थानीय तह, सरोकारवाला निकाय तथा समुदायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै तालिमपश्चात् सहभागीहरूलाई उत्पादनका लागि आवश्यक मेसिन, कच्चा पदार्थ, बजारीकरण तथा उद्यम विकासका क्षेत्रमा सहयोग र सहजीकरण गर्नुपर्ने बताइन् । महिलालाई समेत स्वरोजगार र आर्थिक गतिविधिमा जोड्न यस्ता तालिमले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

डिजिएम नेपालका लुम्बिनी प्रदेश संयोजक कविता तामाङले संस्थाले समुदायको आवश्यकता र स्थानीय सम्भावनालाई आधार बनाएर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताइन् । उनले बेरोजगार तथा आर्थिक रूपमा कमजोर अवस्थाका व्यक्तिलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिइन् ।

“हामीले तालिम आयोजना गर्दा केवल एक महिनाको कार्यक्रमका रूपमा मात्र हेरेका छैनौं,” उनले भनिन्, “यसको दीर्घकालीन उद्देश्य सहभागीलाई उत्पादन र स्वरोजगारसँग जोड्नु हो । तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतार्न सके सहभागी आफैं आर्थिक रूपमा सक्षम बन्न सक्छन् ।”

तामाङले सहभागीहरूलाई समूहगत रूपमा उत्पादन गर्न, नयाँ डिजाइन विकास गर्न र बजारको मागअनुसार सामग्री निर्माण गर्न सुझाव दिइन् । स्थानीय उत्पादनको पहिचान र ब्रान्ड निर्माण गर्न सके वेत तथा बाँसबाट बनेका सामग्रीले राम्रो बजार पाउन सक्ने उनको भनाइ थियो ।

डिजिएम नेपालका अनुदान सहयोग विज्ञ भानु पराजुलीले कुनै पनि उद्यम सफल बनाउन सीपसँगै योजना, लगानी र बजारको महत्वपूर्ण भूमिका रहने बताए। उनले तालिममा सिकेको सीपलाई उत्पादनमा रूपान्तरण गर्न सहभागीहरूले व्यवस्थित योजना बनाउनुपर्नेमा जोड दिए ।

“आजको आवश्यकता भनेको तालिम लिने मात्रै होइन, सिकेको सीपबाट कति उत्पादन गर्न सकिन्छ र त्यसलाई कसरी बजारसम्म पुर्‍याउन सकिन्छ भन्ने विषयमा सोच्नु हो,” उनले भने । “उत्पादनको गुणस्तर, आकर्षक डिजाइन, उचित मूल्य निर्धारण र बजारीकरणलाई प्राथमिकता दिन सकियो भने वेत बाँसको फर्निचर राम्रो आम्दानीको माध्यम बन्न सक्छ ।”

पराजुलीले सहभागीहरूलाई आफ्नो व्यवसाय विस्तारका लागि उपलब्ध विभिन्न सहयोग तथा अवसरको खोजी गर्न आग्रह गर्दै भविष्यमा पनि उद्यमशीलताको यात्रालाई निरन्तरता दिनुपर्ने बताए ।

घुम्ना सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष मिश्रुलाल चौधरीले सामुदायिक वन केवल संरक्षणमा सीमित नभई स्थानीय समुदायको आर्थिक विकाससँग समेत जोडिनुपर्ने बताए। वनमा उपलब्ध स्रोत र स्थानीय सीपको सही उपयोग गर्न सकिएमा समुदायको जीवनस्तरमा सुधार ल्याउन सकिने उनको भनाइ थियो ।

समापन कार्यक्रमका अध्यक्ष हल्लु प्रसाद चौधरीले एक महिने तालिम सफलतापूर्वक सम्पन्न भएकोमा सहयोगी संस्था, प्रशिक्षक तथा सहभागीप्रति धन्यवाद व्यक्त गरे । उनले सहभागीहरूले अब तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै उत्पादन बढाउनुपर्ने बताए ।

“हामीले आयोजना गरेको तालिमको उद्देश्य केवल एक महिना सिकाउने मात्र होइन,” उनले भने, “हामी सहभागीलाई स्वरोजगारको बाटोमा अघि बढाउन चाहन्छौं । सीप सिकेपछि त्यसलाई उत्पादनसँग जोड्न आवश्यक छ । आगामी दिनमा पनि सहभागीहरूको आवश्यकता र सम्भावनाका आधारमा आवश्यक सहयोग तथा समन्वय गर्ने प्रयास गरिनेछ ।”

कार्यक्रममा स्वागत मन्तव्य घुम्ना सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष शिव प्रसाद चौधरीले राखेका थिए । एक महिने तालिममा खेमबहादुर चौधरीले प्रशिक्षकका रूपमा प्रशिक्षण दिएका थिए । समापन कार्यक्रमको सञ्चालन समूहका सचिव सीता चौधरीले गरेकी थिइन्।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्