दाङ – आज हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीज । देश तथा विदेशमा रहेका नेपाली दिदीबहिनीहरू आफ्ना परम्परा, आस्था र संस्कृतिलाई आत्मसात् गर्दै तीज पर्व मनाउँदैछन् । तीज नेपाली महिलाको धार्मिक आस्था, सांस्कृतिक पहिचान, पारिवारिक सम्बन्ध र आपसी सद्भावसँग जोडिएको महत्वपूर्ण पर्व हो ।
तर यस वर्षको तीज विगतका वर्षहरूजस्तो उल्लासमय देखिएको छैन । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपहिरोले ठूलो जनधनको क्षति गराएको छ । धेरै परिवारले आफन्त गुमाएका छन्, कतिपय अझै बेपत्ता छन् र असंख्य परिवार पीडामा छन् । यस्तो दुःखद् परिस्थितिमा देश शोकमा रहेका बेला अत्यधिक तडकभडक र भड्किलो प्रदर्शन गर्नु त्यति शोभनीय देखिँदैन । त्यसैले यस वर्षको तीजलाई आडम्बरभन्दा आस्था, प्रदर्शनभन्दा संस्कार र रमझमभन्दा मानवीय संवेदनालाई प्राथमिकता दिने पर्व बनाऔँ ।
तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखौँ । लामो समयसम्म निराहार बस्ने वा स्वास्थ्यमा असर पर्ने गरी व्रत गर्नेभन्दा आफ्नो शरीरको अवस्था र चिकित्सकीय सुझावलाई ध्यान दिऔँ । व्रत खोल्दा पनि पौष्टिक तथा सन्तुलित भोजन गरौँ । विशेषगरी बिरामी, गर्भवती, वृद्धवृद्धा तथा नियमित औषधि सेवन गरिरहेकाहरूले स्वास्थ्यप्रति थप सावधानी अपनाउन आवश्यक छ ।
त्यस्तै हाम्रो रमाइलो र उत्सवले छिमेकी, समुदाय वा अरू कसैलाई असहज नहोस् भन्ने कुरामा सचेत बनौँ । चर्को आवाजमा गीत बजाउने, रातिसम्म होहल्ला गर्ने, अनावश्यक भिडभाड गर्ने वा तडकभडकमा प्रतिस्पर्धा गर्ने प्रवृत्तिलाई निरुत्साहित गरौँ । प्रशासन तथा स्थानीय निकायले जारी गरेका सूचना, सुरक्षा निर्देशन र सार्वजनिक हितसँग सम्बन्धित नियमहरूको पालना गर्दै पर्व मनाऔँ ।
तीज मनाउन ठूलो खर्च गर्नुपर्छ भन्ने होइन । परिवारसँग बसेर, साथीभाइसँग शुभकामना साटासाट गरेर, मन्दिरमा पूजा आराधना गरेर, परम्परागत गीत संगीत सुनेर र नाचगान गरेर पनि तीजलाई रमाइलो बनाउन सकिन्छ । बरु हाम्रो मौलिक कला, संस्कृति, भेषभूषा र परम्परालाई संरक्षण गर्ने खालका गीत संगीतलाई प्राथमिकता दिऔँ ।
अझ महत्वपूर्ण कुरा यो दुःखको समयमा पीडित परिवारप्रति सहानुभूति र सहयोगको भावना राखौँ । आफ्नो क्षमताअनुसार विपद्मा परेकाहरूलाई सहयोग गर्नु, गलत सूचना नफैलाउनु र उद्धार तथा राहत कार्यमा बाधा नपुग्ने गरी जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्नु पनि हाम्रो सामाजिक दायित्व हो ।
तीज हाम्रो संस्कृति हो, हाम्रो पहिचान हो र हाम्रो आस्था हो । त्यसैले यसलाई भड्किलो होइन, सभ्य; खर्चिलो होइन, संस्कारयुक्त; र व्यक्तिगत प्रदर्शन होइन, आपसी सद्भाव र मानवीय संवेदनाको पर्व बनाऔँ । देश पीडामा रहेका बेला संयम अपनाऔँ, स्वास्थ्यको ख्याल गरौँ, प्रशासनका निर्देशन पालना गरौँ र मर्यादित ढंगले हरितालिका तीज मनाऔँ । अन्त्यमा सबैमा हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना ।

प्रतिक्रिया दिनुहोस्